नेपालद्वारा न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना

न्युयोर्क । जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित ‘सगरमाथा टु द सी: अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर’ अर्थात् ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो।

नेपालले भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको थियो। कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघसहित विश्वका विभिन्न मुलुकबाट उच्चस्तरीय तहमा सहभागिता रहेको थियो। नेपालले कार्यक्रम भाेटेकाेसी बाढीकाे छाेटाे भिडियो प्रस्तुत गरेको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएकाले जलवायु संकट सम्बोधनका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको बताए। परराष्ट्रमन्त्री खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमालदेखि समुद्रसम्मको साझा जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए। नेपाल सरकार र नेपाली जनताका तर्फबाट सहभागीहरूलाई स्वागत गर्दै उनले सहआयोजक मुलुकहरू भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान तथा संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगलाई उक्त कार्यक्रममा सहकार्यका लागि धन्यवाद दिए।

परराष्ट्रमन्त्री खनालले भने, ‘तपाईँहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ।’ नेपाल अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री खनालले गत २६ अगस्टमा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए। उनले उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गर्दै भने, ‘घाउहरू अझै ताजा छन्। यस्तो अवस्थामा यो विषयमा छलफल गर्नु उपयुक्त समय हो।’

परराष्ट्रमन्त्री खनालले ‘सगरमाथादेखि समुद्रसम्म’ को अवधारणा जलवायु प्रणाली राजनीतिक सीमाभन्दा पर रहेको यथार्थमा आधारित रहेको बताए। पृथ्वीको सर्वोच्च शिखर सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उहाँले यस क्षेत्रमा ६३ हजार ७०० भन्दा बढी हिमनदी रहेको बताए। उनले सन् २०२३ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिमनदीलाई ‘आइसि रिजर्भ्वायर्स’ अर्थात् ‘बरफका जलाशय’ का रूपमा वर्णन गर्नुभएको स्मरण गरे। हिमनदीबाट निस्कने पानी नदी हुँदै पारिस्थितिक प्रणाली र समुदायलाई पोषण गर्दै समुद्रसम्म पुग्ने उल्लेख गर्दै मन्त्री खनालले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको बताए।

परराष्ट्रमन्त्री खनालले हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याउँदै तल्लो तटीय क्षेत्रका जनजीवनमा असर पारिरहेको र अर्कोतर्फ द्वीपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताए। उनले भने, ‘नक्सामा हेर्दा हिमाल र समुद्र एकअर्काबाट टाढा देखिन सक्छन्, तर प्रकृतिले हामीलाई त्यसको विपरीत कुरा बताउँछ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।