काठमाडौं । प्रभु बैंककाे नेतृत्वमाथि फाैजदारी कसुरमा प्रहरीले प्रकाउ गरि अनुसन्धान अघि बढाएपछि नेतृत्व परिवर्तन भएको एक वर्ष नपुग्दै नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुमन शर्माविरुद्ध पनि अर्काे फौजदारी मुद्दा दायर भएको छ ।
पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगमा मुद्दा दायर भएपछि बैंकको व्यवस्थापनमाथि पुनः गम्भीर प्रश्न उठेको छ भने शर्मा फाेर्स लिभमा बसेका र सार्वजनिक रूपमा देखा परेका छैनन् ।
पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले तत्कालीन सनराइज बैंकका सिईओसमेत रहेका शर्मासहित चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । प्रतिवादीमा तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसी पनि छन् ।
अभियोगपत्रअनुसार तत्कालीन सनराइज बैंकको केन्द्रीय कार्यालयबाट २०८० वैशाख ५ गते अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत भएको थियो । कर्जाको सुरक्षणका लागि बाराको अमवास्थित जग्गा बैंकको पक्षमा धितोबन्धकसमेत गरिएको उल्लेख छ । तर स्वीकृत कर्जा रकम आफूले प्राप्त नगरेको दाबी गर्दै अञ्जली इन्टरनेसनलले कानुनी प्रक्रिया अघि बढाएको थियो ।
सरकारी पक्षले धितोबन्धक गरिएको ८९ लाख रुपैयाँलाई बिगो कायम गरी सोही बराबरको क्षतिपूर्ति भराउन माग गरेको छ ।
शर्मा २०८२ माघमा चार वर्षका लागि प्रभु बैंकको सिईओ नियुक्त भएका थिए । नयाँ जिम्मेवारी सम्हालेको एक वर्ष पनि पूरा नहुँदै उनी आफैं प्रतिवादी बनेको फौजदारी मुद्दाले प्रभु बैंकको उच्च व्यवस्थापन र संस्थागत सुशासनमाथि थप बहस निम्त्याएको छ ।
यसअघि पनि प्रभु बैंकका तत्कालीन सिईओ अशोक शेरचनसहित उच्च अधिकारीहरूविरुद्ध बैंकिङ कसुरका मुद्दा दायर भएका छन् । विभिन्न कर्जा तथा बैंकिङ कारोबारसँग जोडिएका प्रकरणमा बैंकका उच्च अधिकारीमाथि कानुनी कारबाही अघि बढेको पृष्ठभूमिमा नयाँ सिईओसमेत फौजदारी अभियोगमा तानिनुले बैंकका लागि अर्को चुनौती थपिएको हाे ।
अघिल्लाे नजिरका आधारमा शर्माविरूद्व पनि फाैजदारी मुद्दा दायर भएकाले उनलाई बाेर्डले हटाउन सक्ने सम्भावना बढी छ । त्यसाे त शर्मा अब अदालतमा हाजिर हुनेछन् । त्यसबेला अदालतले धराैटीमा रिहा गर्ने वा थुनामै राखेर मुद्दाकाे पुर्पक्ष गर्ने मध्ये एउटा आदेश दिनेछ । शर्मा अदालतमा हाजिर नभएमा प्रहरीले पक्राउ गरि अदालतमा हाजिर गराउने कानुनी व्यवस्था छ ।




