काठमाडौँ । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ ।
विधेयकको दफा १८ (२) (क) र (ग) मा निजामती सेवामा प्रवेशका लागि अयोग्य मानिने व्यक्तिहरूको सूचीमा ‘बहुविवाह’ गर्ने व्यक्ति र ‘विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) वा ग्रीन कार्ड’ लिएका व्यक्तिहरूलाई समावेश गरिएको छ ।
यो प्रावधानसँगै अब निजामती सेवामा प्रवेश गर्न चाहने कुनै पनि नेपाली नागरिकले बहुविवाह गरेको वा विदेशी स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा उम्मेदवार हुन पाउने छैनन् । विधेयकले बहुविवाह र पीआर र ग्रिन कार्ड लिने बाहेकका गम्भीर फौजदारी कसुरमा संलग्न व्यक्तिहरूलाई पनि निजामती सेवाका लागि अयोग्य ठहर्याएको छ ।




