Friday, October 2, 2026
21.1 C
Kathmandu
Home मुख्य समाचार शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थप अभियोगपत्र दायर गरेको छ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा र साला प्रदीप भट्टराईसमेत १९ जनालाई प्रतिवादी बनाइएको छ।

२१ हजार भन्दा बढी बचतकर्ताकाे बचत हिनामिनामा शर्मा दम्पत्तिदेखि उनकाे छाेराे र सालाेसमेतकाे मिलेमताे र संलग्नता देखिएकाे हाे ।

संस्थाले काठमाडौंका चार शाखामा २१ हजार ३६९ बचतकर्ताबाट करिब रु. २ अर्ब ११ करोड बचत संकलन गरेको थियो। यसमध्ये पहिलेको मुद्दामा ११४५ जना बचतकर्ताको रु. ७८ करोड १९ लाख बिगो दाबी गरिएको छ। अहिलेको थप अभियोगमा सुरेन्द्र श्रेष्ठसहित १६२ बचतकर्ताको रु. ५ करोड २६ लाख ८६ हजार बिगो मागिएको छ।

१९ प्रतिवादीमध्ये केदारनाथ शर्मा र अमिश राजभण्डारी पुर्पक्षका लागि कारागारमा छन्। शिव प्रसाद पौड्याल, रसना शाक्य र रमेश खाइजु तारेखमा छन्। गीता शर्मा, पुस्कर मल्ल, सुशील बानिया, तेज बहादुर तामाङ, भोजराज पौडेल, दीपक ऐर, रानु शाखकमी, लिलानाथ गौतम, कुमार श्रेष्ठ, सुदर्शना कपाली, शमिना श्रेष्ठ, त्रिचन्द्र सुवेदी, बाल मुकुन्द कपाली र प्रदीप भट्टराई फरार रहेको उल्लेख छ।

यसमध्ये गीता शर्मा र पुस्कर मल्ल जगन्नाथ देवल कारागारबाट २०८२ भदौ २४ गतेदेखि भागेको कारागार कार्यालयको जानकारी अभियोगपत्रमा उल्लेख छ। अदालतसमक्ष फरारहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।

प्रतिवादी अमिश राजभण्डारीले बयानमा आफू सञ्चालक समितिको सदस्य नरहेको र आफ्नो नाम दुरुपयोग भएको दाबी गरेका छन्। उनले आफूले २०७९ फागुनमै सहकारी विभागमा निवेदन दिएको र बचत अपचलनबारे जानकारी नभएको बताएका छन्। केदारनाथ शर्माले भने बचतकर्ताले रकम फिर्ता लिन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको डेस्कमा सम्पर्क गर्नुपर्ने बयान दिएका छन्।

संस्थाले २०७९ माघमा प्रतिबद्धता पत्र निकालेर बचत फिर्ता गर्न नसक्ने जनाएको थियो। त्यसपछि चितवनमा साधारणसभा गर्ने सूचना निकाले पनि सभाको एजेन्डामा बचतकर्तालाई रकम फर्काउने कुनै योजना नभएको जाहेरवालाको आरोप छ।

अभियोगपत्रमा सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान गर्न माग गरिएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।