काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा पनि फागुन २१ मै निर्वाचन हुने बताएकी छिन् । उच्च हिमाली क्षेत्रको अवस्था बुझ्न आज बिहानै सोलुखुम्बुको नाम्चे र सल्लेरी आएकी प्रधानमन्त्रीले सरोकारवालासँगको भेट फागुन २१ मा एकै चरणमा चुनाव हुने बताएकी हुन् ।

बिहानै हेलिकोप्टरमार्फत नाम्चे अनि त्यसपछि सल्लेरी आएकी कार्कीले जिल्ला समन्वय समितिमा सरोकारवालालाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा शंका नगर्न आग्रह गरिन् । उनले सुरक्षाको दृष्टिकोणले पनि यसको प्रत्याभूति दिलाउन आफूहरु तम्तयार रहेको बताइन् । चुनाव सफल पार्न सरकारको सिंगो ध्यान गएकाले ढुक्कले मतदान गर्न अपिल गरिन् ।

यसअघि प्रधानमन्त्री कार्कीलाई जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर लगायतले स्वागत गरेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ को निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ प्रमुख जिल्ला अधिकारी पोण्डेले गरेकी थिइन् । यसपालि हिमपातकै कारण समस्या आउन सक्ने सम्भावना कम रहेको बताएकी थिइन् । अहिलेसम्म जिल्लामा हिमपात नभएको र अन्य समयमा पनि फागुन तेस्रो सातातिर हिउँ नपरेको उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।