खोटाङ, २३ मङ्सिर । सानो एकतले घर । घरभित्र अगेना छेउमा ओछ्यान लगाएर सुताइएको बिरामी । काखमा डेढ वर्षकी छोरी बोकेर भन्दै हुनुहुन्थ्यो, ‘ए…उठ्नु न ! सक्नुहुन्न ?, उठेर एक गाँस तातो खोले त खानुस् !’
यो खोटाङको दक्षिणी गाविस लिकुवापोखरीस्थित एक गरिब परिवारको घरमा सुनिएको एकहोरो आवाज हो, जहाँ गरिबीका कारण आठ महिनादेखि ओछ्यानमा थलिएका श्रीमान्लाई खोले खान श्रीमान्लाई आग्रह गर्दै हुनुहुन्थ्यो एक महिला ।
लिकुवापोखरी–७ का २२ वर्षीय जगजीत राई गत वैशाखदेखि दाहिने खुट्टामा आएको घाउ अर्थाभावमा उपचार गर्न नपाएपछि ओछ्यानमै थलिनुभएको हो । ओछ्यानमा सुतिरहनुभएका जगजीत भन्नुहुन्छ, “कसैको सहयोग पाए बाँच्थे जस्तो लाग्छ, यदि सहयोग पाइँन भने, म त मर्छु नै सानी छोरी र परिवारको बिजोग हुने भो !”
जगजीतको परिवारमा आमा, भाइ, श्रीमती र छोरी छन् । श्रीमतीको काखमा अडेस लाएर बसेका जगजीत भन्नुहुन्छ, “वृद्धा आमा छोरीको हेरचाह गर्नुहुन्छ, भाइ अर्काकोमा बनीबुतो गर्छ, अनि श्रीमती मलाई उठाउन–सुताउन… ।”
जगजीतका आफन्त प्रमिला राईका अनुसार जगजीतको खुट्टामा सुरुमा सामान्य पानी फोका उठेको थियो । उहाँ भन्नुहुन्छ, “गर्मीयाममा सुरु भएको पानी फोका विस्तारै फुटेर घाउ भयो र अहिले गोलीगाँठादेखि मुनिको भाग कुहिएर झरिसकेको छ ।”
स्रोतका अनुसार खुट्टामा सामान्य घाउ भएपछि जगजीत ऋण काढेर नोबेल अस्पताल विराटनगरसम्म उपचारका लागि जानुभएको थियो । अस्पतालले अन्यत्र जान सिफारिस गरेपछि खर्च अभावमा आफू घर फर्किएको जगजीतको भनाइ छ । जगजीत भन्नुहुन्छ, “ऋण काढेर लगेको रु ८० हजार त्यत्तिकै सकियो, अहिले साहुले बसी खान दिएको छैन ।”
सम्पत्तिको नाममा फुटेको कौडीसमेत नभएपछि छोराको उपचार खर्च त के दैनिक हातमुख जोड्नसमेत समस्या भएको जगजीतकी आमा कालीमायाँ राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जेठो छोरा उही हो, हामी सबै उसैको भरमा थियौँ, उ आफैँ ओछ्यान लागेपछि कन्तबिजोग भएको छ ।”
राई परिवारको तीन रोपनी पाखो बारी छ । वर्षभरि गरेको कमाइले तीन महिना पनि खान नपुग्ने उनीहरूको भनाइ छ । जगजीतकी आमा कालीमायाँ भन्नुहुन्छ, “दैव पनि हामी जस्तालाई नै लाग्दो रहेछ ! यसरी बाँच्नुभन्दा सबैलाई एकै चोटि लगे दुःखै लुक्थ्यो ।”
तीन वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका जगजीतको बुबा शरणबहादुर बितेको पाँच वर्ष भइसकेको छ । आमा ६० वर्षकी हुनुहुन्छ । श्रीमती कल्पना राई २० वर्षकी । विवाह गरेको वर्ष दिनमा छोरी समीक्षाको जन्म भएको जगजीतले बताउनुभयो ।
सुरु–सुरुमा त विस्तार–विस्तार आफैँ दिसापिसाब गर्न जाने जगजीत अहिले श्रीमती कल्पनाको भरमा हुनुहुन्छ । “अहिले त उहाँले खानै छाडिसक्नुभएको छ,” गहभरि जमेको आँसु पुछ्दै कल्पना भन्नुहुन्छ, “ज्यादै चिन्ता लागेर आउँछ, यदि केही भइहाले मैले के गर्ने !”
समयमा उपचार नभए जगजीतको ज्यानै तलमाथि हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । जगजीतको खुट्टामा आएको घाउ क्यान्सर भइसकेको बताइएको छ । रासस