काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल सहकारी संस्था लिमिटेडमा कुनै पनि भौतिक फाराम बिना नै कम्पनीको नाममा खाता खोलेर शंकास्पद कारोबार गरेको पाइएको छ ।
तत्कालिन व्यवस्थापक श्रृष्टि श्रेष्ठले संस्थाको विषयमा अध्ययन गरी २०८२ पुष ७ गते अध्यक्षलाई बुझाएको प्रतिवेदनमा एएमडी कम्पनी नामको खाता सम्बन्धी कुनै पनि भौतिक फारम नै नभेटिएको उल्लेख छ । तर, सोही कम्पनीमा मिति २०६९/६/०३ मा ५० हजार, २०७१/४/२६ गते २५ हजार र २०७२/३/३१ मा २५ हजार रुपैयाँ व्यवस्थापकको लागि खोलिएको १० नम्बर खातामा निकासा गरेपछि पुनः त्यो कम्पनीमा रकम फिर्ता नभएको प्रतिवेदनमा उल्लेख छ ।
सामान्यतया कुनै बचतकर्ताको रकम अर्को खातामा निकासा भएपछि फिर्ता गर्नुपर्नेमा फिर्ता नै नहुनु, कम्पनीको विस्तृत विवरण नै नभेटिनु, भौतिक फाराम नै नराखिनु र एकतर्फी रुपमा पटक–पटक सो खातामा निकासा गरिनुले अनियमितताका लागि डमी खाता खोलको हुनसक्ने सम्भावना बढेको छ ।
सहकारीमा डमी खाता खोलेर अनियमितता भएको भन्दै छानबिनका माग गरेर सहकारी प्राधिकरणमा उजुरी परिसकेको समेत पाइएको छ ।
१० नम्बर खाता दैनिक हिसाबमा घटीबढी भएमा रकम जम्मा गर्नका लागि खोलिए पनि उद्देश्य विपरित शंस्कास्पद कारोबार हुँदै आएको पनि पाइएको हो ।
सहकारी सञ्चालकले मोदर इन्स्टिच्युट नामको खातामा पनि यस्तै शंस्कास्पद कारोबार गरेको पाइएको छ ।

सहकारीले कुनै माइन्युट नै नगरी जनरल रिजर्भ फन्डबाट मोदर इन्स्टिच्युट मा रकमान्तर गरेको समेत पाइएको हो । मिति २०७०÷०२÷१६ गते भने फिक्स डिपोजिटमा ५ लाख ५४ हजार ६ सय ५१ राखिएको छ । तर को कसको नाममा भन्ने कुनै पनि रेकर्ड नभेटिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका अध्यक्ष राजन पराजुलीले अघिल्ला कार्यसमितिले केही गल्ती गरेको पाइएमा कारबाही हुने बताए । ‘म सबै डाटावाइज तपाईलाई दिन सक्छु, पहिले के व्यवस्था थियो, कम्पनीको खाता खोल्न पाउने नपाउने के थियो, नियामकले नियमन कसिलो बनाउँदै आए । पहिले र अहिलेको व्यवहारिक पक्ष मिल्दैन ।’ उनले हेलोखबरसँग टेलिफोनमा भने ।
अध्यक्ष पराजुलीले कुनै बचतकर्ताको पनि रकम हिनामिना नगरेको जिकिर गर्दै सबै सिस्टममा नै रहेको र गडबढी नै हो कि हैन भन्ने विषयमा भने बुझ्नुपर्ने पनि उल्लेख गरे । ‘गडबढी भएको हो कि हैन भन्ने विषय यतिकै भन्न सकिदैन, सबै स्टेटमेन्ट हेरेपछि थाहा हुन्छ ।’ उनले भने ।
यसैबीच, सहकारी संस्थाले हेलोखबरमा यसअघि प्रकाशित समाचारको खण्डन गर्दै प्रेस काउन्सिलमार्फत खण्डन पठाएको छ ।
खण्डनमा संस्थाभित्र कुनै पनि अनियमितता नभएको दाबी गरेको छ । ‘तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था एउटा २७ वर्ष इतिहास बोकेको नीति, विधि र प्रविधिमा सदस्यहरुको नियन्त्रण तथा निर्देशन बमोजिम विधि सम्मत निरन्तर सञ्चालनमा रहेको संस्था हो । संस्थाले सहकारीका आधारभूत मूल्यको पूर्णपालना गर्दै प्रचलित कानुनको अधिनमा रही नेपाल सरकारका नियामक निकायहरुका सर सल्लाह, सुझाव निर्देशनहरु पालन गर्दै बिधिसम्म सञ्चालन रहेको ब्यहोरा स्पष्ट पार्न चाहन्छौं । खण्डनमा भनिएको छ ।








