आनन्दस्वरुप वर्मा

सन् १९७५ मा भारतमा सिक्किमको विलय हुनासाथ यस उपमहाद्वीपको राजनीतिक शब्दकोशमा एउटा नयाँ शब्द थपिएको थियो- सिक्किमीकरण । उक्त घटनाबाट नेपाल सबभन्दा धेरै रन्थनियो र उसले आफ्नो विदेश नीतिलाई यसरी संयोजित गर्नेतर्फ लाग्यो कि आफ्नो उत्तरी छिमेकी चीनलाई पनि महत्त्व दिन सकियोस् । यद्यपि उसको दक्षिणी छिमेकी भारतसँगको सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धहरू उत्तरको तुलनामा गहिरो र पुराना थिए, तर सिक्किमको घटनाले उसलाई उत्तरतर्फ फर्किन बाध्य पारिदियो । २१ औं शताब्दीको यो कालखण्डमा आएर चाहिं नेपालको सन्दर्भमा एउटा नयाँ शब्दले जन्म लिइरहेको छ, त्यो हो- मोदीकरण ।
अब भारतलाई त्यस्तो केही गर्न आवश्यक छैन, जसमा टेकेर यो आरोप लगाउन सकियोस् कि उसले विस्तारवादको परिचय दिँदै छिमेकको अमूक भूभाग अथवा अमूक मुलुकलाई आफ्नो अधीनमा पार्‍यो । अब उसलाई सिक्किममा जसरी रातारात सेना पठाएर कुनै चोग्याललाई कैद गरिरहनुपर्ने आवश्यकता छैन । अब उसलाई कुनै एउटा लेन्डुप दोर्जी चाहिंँदैन, किनभने सबैजसो पार्टीहरूमा उसले लेन्डुपहरूको जमात नै पाइसकेको छ । अब आवश्यकता शक्तिको होइन, कहिले उपदेश दिएर त कहिले आदेश दिँदै, कहिले मुसुक्क हाँसेर त कहिले आँखा कर्के पारेर उसले आफ्नो काम सम्पन्न गर्न सक्छ, जसका लागि अब हातहतियार या सैनिकहरू नै चाहिँंदैनन् । यही नै हो, नयाँ अवतारसहितको ‘सिक्किमीकरण’, जसलाई तपाई सुविधाका लागि ‘मोदीकरण’ भन्न सक्नुहुन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत अगस्तमा नेपालको पहिलो यात्रा गरे र स्वयं नेपालका केही राजनेताहरूका अनुसार उनले ‘नेपाली जनताको मन जिते’ । नेपालको संसदमा शानदार भाषण, पशुपतिनाथको मन्दिरमा पूजा र नेपाललाई ठूलठूला उपहारको माध्यमबाट उनले नोभेम्बरमा फेरि आफ्नो पाउद्वारा नेपालको भूमिलाई पुनः कृतार्थ बनाउने वाचा गरे । यो त संयोग नै हो कि नोभेम्बरमा सार्क मुलुकहरूको शिखर सम्मेलन निश्चित थियो । यदि त्यो सम्मेलन नभए पनि उनको यात्रा त हुने नै थियो । यस यात्रामा बाँकी रहेका धेरै काम सम्पन्न गर्नु थियो, जो मोदीकै भनाइअनुसार ‘पछिल्ला २०-३० वर्षदेखि थन्किएका थिए’ । आफ्नो यस यात्रामा एउटा विनम्र अहंकारका साथ मोदीले घोषणा गरे कि पछिल्लो यात्रामा उनले जुन वाचाहरू गरेका थिए, ‘महज सय दिनमा’ पुरा गरिदिएका छन् । साँच्चै ती वाचाहरू पुरा भए ? माथिल्लो कर्णाली र अरुण-३ जलविद्युत परियोजनामा सम्झौता भयो, दुई मुलुकबीच बससेवा सुरु गरेर उनले ‘कनेक्टिभिटी’को आफ्नो वाचाको एक अंश पुरा गरिदिए, एउटा ट्रमा सेन्टरको उद्घाटन भयो आदि ।
जनकपुरमा एउटा सार्वजनिक सभाको तयारी पनि पुरा भइसकेको थियो, तर सरकारका एक मन्त्रीको आरोपअनुसार- माओवादीहरू र उनीहरूको भनाइको पछि लागेर केही मधेसीहरूले सारा योजनामा पानी खन्याइदिए । एमालेका केही नेताहरूले पनि असहमति जाहेर गरे कि अर्को मुलुकका प्रधानमन्त्रीले यहाँ आएर कसरी सार्वजनिक सभा गर्न मिल्छ ? उनीहरूको भनाइ थियो- सार्क सम्मेलनमा आउने पाकिस्तान, श्रीलंका अथवा भुटानका नेताहरूलाई पनि नेपालमा जनसभाहरू गर्ने छुट मिल्छ त ? एउटा कुशल राजनीतिज्ञ र गुजरातजस्तो प्रान्तमा १५ वर्षसम्म मुख्यमन्त्री पदमा रहिसकेको नाताले नरेन्द्र मोदीलाई यो त थाहा नै छ होला, यस प्रकारका सभाहरू आयोजना गर्ने अनुमति ‘प्रोटोकल’ले दिँदैन । यति हुँदाहुँदै पनि यदि उनले कार्यक्रम बनाएका थिए भने यो बुझ्न रोचक हुन्छ कि त्यसका पछाडि कुन मानसिकताले काम गरिरहेको थियो ? के उनले नेपाललाई भारतको एउटा विस्तारित रूपमात्र ठान्छन् ? के दुवै मुलुकमा हिन्दु बहुल हुनाका नाताले सम्प्रभुताको सीमारेखा मेटिएको ठानिएको हो ? यदि यस्तै हो भने निश्चय पनि यो एउटा असाध्यै खतरनाक कुरा हो ।
तराईका केही संगठनहरूले यदि मोदीले यस क्षेत्रको भ्रमण गरे भने यहाँको समस्या उनलाई बुझ्न सहज हुन्छ र समाधान हुन्थ्यो भन्ने धारणा राख्छन् भने यस कथनको पछाडि तिनको आशय के हो ? तिनीहरू को हुन्, जसले मोदीको यात्रा रद्द हुनुको विरोधमा प्रदर्शनको आयोजन गरे ? के उनीहरू राष्ट्रिय स्वयंसेवक संघको शाखा ‘हिन्दु स्वयंसेवक संघ’, ‘सीमा जागरण मञ्च’ र ‘हिन्दु जागरण मञ्च’का कार्यकर्ता हुन्, जसले मधेसी फोरम अथवा यस्तै संगठनहरूमा घुसपैठ गरिसकेका छन् ? विश्व हिन्दु परिषदका नेता अशोक सिंघलले पूर्वी नेपालको विराटनगरमा अपि्रल २०१४ मा हिन्दु कार्यकर्ताहरूको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘यदि नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बने भने नेपाललाई फेरि हिन्दु राष्ट्र बनाइदिनेछौं ।’ अशोक सिंघलका साथै राष्ट्रिय स्वयंसेवक संघका अन्य नेताहरूले पनि समय-समयमा यस प्रकारका विचार व्यक्त गर्दै आएका थिए । यदि यी दुवै संगठनलाई गैरराजनीतिक संगठन भनेर भनेर छुट दिने हो भने पनि यदि भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले पनि यस प्रकारको उद्गार प्रकट गरेका छन् । त्यसलाई के भन्ने ?
मार्च २०१० मा नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि उनको अन्तिम संस्कारमा सामेल हुन भाजपाका तत्कालीन अध्यक्ष र भारतका वर्तमान गृहमन्त्री राजनाथ सिंह काठमाडौं गएका थिए । त्यसबेला उनले भनेका थिए, ‘हामीलाई यस कुरामा सधैं गर्व भइरह्यो कि नेपाल दुनियाँको एकमात्र हिन्दु राष्ट्र हो । यदि नेपाल फेरि पनि हिन्दु राष्ट्र बन्न सक्यो भने मलाई सबैभन्दा धेरै खुसी हुनेछ ।’ भाजपाकै अर्का नेता विजय जौली र भगतसिंह कोसियारीले पनि नेपाल हिन्दु राष्ट्र हुन नसकेकोमा दुःख प्रकट गरेका थिए । तर अब राजनाथसहित अन्य नेताहरू सत्तामा आएपछि नेपाली जनताले चाहेमा नेपाल फेरि हिन्दु राष्ट्र बन्नसक्ने बताइरहेका छन् । त्यसो हो भने कुरा अब नेपाली जनताको चाहनामा आएर अडकिएको छ । अबको आवश्यकता भनेको नेपाली जनताभित्र त्यो ‘चाहना’ पैदा गर्ने हो । अब एउटा सहमतिको आवश्यकता छ । नोम चोम्स्की भन्छन्- मिडियाले सहमतिको निर्माण गर्छ । नरेन्द्र मोदी र उनको जमातले भारतीय मीडियालाई धेरै हदसम्म आफ्नो पक्षमा लिइसकेको छ र त्यसले पूर्ण जिम्मेवारीका साथ यो कामलाई निष्कर्षसम्म पुर्‍याउन लागिपरेको छ । हरेक कुरामा भारतको नक्कल गर्ने नेपाली मिडिया किन पछि छुटोस्- त्यो पनि यसलाई पूर्ण जिम्मेवारीका साथ सम्पन्न गर्न लागिरहेको छ ।
नरेन्द्र मोदीलाई थाहा छ- नेपालको स्थिति क्रमशः उनको अनुकूल हुँदै गइरहेको छ, किनभने राजासमर्थक राप्रपा नेपालका नेता कमल थापा हुँदै नेपाली कांगे्रस र नेकपा एमालेका धेरै नेताहरू पनि अब खुलेर हिन्दु राष्ट्रको वकालत गर्न थालेका छन् । मोदीको यात्राको २० दिन अघिमात्र ७ नोभेम्बरमा नेपालमा ‘हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि महाअभियान’को नामबाट जुन सम्मेलन भयो, त्यसका हर्ताकर्ता कुनै हिन्दुवादी संगठनका अगुवा नभएर कांग्रेसका नेता खुमबहादुर खड्का थिए । यस अभियानको रिपोर्टिङ गर्दै ‘हिन्दु एग्जिस्टेन्स डट ओआरजी’ नामक वेबसाइटले लेख्यो, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पटक-पटक यात्रा हुनु यस दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ कि नेपाल फेरि हिन्दु राष्ट्र बन्न जाँदैछ ।’ तराईका क्षेत्रहरूमा यिनै संगठनका कार्यकर्ताहरूले ठूलठूला ब्यानर लिएर प्रदर्शन गरे र यो सन्देश दिने प्रयास गरे कि मोदीको आगमनले नै यस मुलुकलाई बचाउन सकिन्छ ।
इन्डियन एक्सप्रेसमा गत अपि्रल ७ मा प्रकाशित एक रिपोर्टअनुसार राष्ट्रिय स्वयंसेवक संघको नेपाली शाखा ‘हिन्दु स्वयंसेवक संघ’ तराईमा करिव ७ हजार ‘एकल विद्यालय’ खोल्ने योजनामा काम गरिरहेको छ, ताकि ‘हिन्दु राष्ट्रका खिलाफ गरिएको षडयन्त्र’लाई विफल पार्न सकियोस् । यसै रिपोर्टमा मोदीको चुनाव अभियानको प्रसंग कोट्याउँदै भनिएको थियो- कसरी उनले सोमनाथ (गुजरात), विश्वनाथ (वाराणसी) र पशुपतिनाथ (नेपाल) बीच एकता कायम गरेर सांस्कृतिक रूपमा हिन्दुहरूलाई संगठित गरेका छन् । यो सबै गर्दैगर्दा मोदीले लगातार ‘विकास’को कुरा गर्दै आएका छन् र यससँग सम्बद्ध अन्य संगठनचाहिँ हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानलाई बल पुर्‍याउन लागिपरेका छन् । यसै रिपोर्टमा अशोक सिंघललाई उद्धृत गर्दै भनिएको छ- नेपाललाई आज एउटा मोदीको खाँचो छ ।
भन्नका लागि त नरेन्द्र मोदी सार्क मुलुकहरूको सम्मेलनमा भाग लिन काठमाडौं गएका थिए, तर उनको सारा ध्याउन्न नेपालको राजनीतिलाई आफ्नोअनुरुप ढाल्नुमै केन्दि्रत थियो । उनले विभिन्न दलका नेताहरूसँग छुट्टाछुट्टै भेट गरे र सार्वजनिक रूपमा भने- निर्धारित अवधिभित्र अर्थात् २२ जनवरी २०१५ सम्म संविधानको निर्माण गर्नुहोस् (नभए…) । उनको यस भनाइलाई एउटा भारतीय टीभी च्यानलले ‘ठूलो दाइको सल्लाह’ भन्यो भने अर्कोले ‘सख्त आदेश’ दिएको भनी प्रशारित गर्‍यो । भारत र नेपालका पत्रिकाहरूमा जुन रिपोर्ट प्रकाशित भए, त्यसअनुसार मोदीले साँच्चै यी नेताहरूलाई आदेश दिएर भने- उनले (मोदीले) अपेक्षा गरेका छन्, प्रत्येक नेताले २२ जनवरीका दिन उनलाई फोन गरेर खबर गर्नेछन् कि संविधान निर्माण भयो । यस दुष्साहसलाई के भन्ने ? के नरेन्द्र मोदीले नेपाललाई आफ्नो कुनै प्रान्त ठान्छन् ? के भविष्यको नेपाल उनको कल्पनामा एउटा यस्तो नेपाल हो, जुन उनले ‘डिक्टेट’ गरेअनुसार काम गर्छ ? यदि यस्तो हो भने मोदीले एउटा खतरनाक खेलको सुरुवात गरिसके । यसको परिणतिले यस उपमहाद्वीपको राजनीतिलाई कहाँसम्म लैजान्छ, यो त आउने समयले नै देखाउनेछ । तर एउटा कुरा तय छ कि ‘मोदीकरण’को रूपमा ‘सिक्किमीकरण’ले एउटा नयाँ अवतारको जन्म लिँदैछ ।
भारतीय पत्रकार वर्मा दिल्लीबाट निस्कने ‘समकालीन तिसरी दुनियाँ’ मासिकका सम्पादक हुन् । साभारः कान्तिपुर दैनिक

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।