काठमाडौँ — सिन्धुपाल्चोकको जम्बुमा गत असार २५ गते गएको पहिरो निरीक्षण गर्न सबै दलका नेताहरू हेलिकप्टर लिएर गए । हेलिकप्टर लैजान सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, सत्ता र प्रतिपक्षी दलका नेता एवं कार्यकर्ताबीच तँछाड–मछाड नै चल्यो ।

सिन्धुपाल्चोकको लिदी लामागाउँका पहिरोपीडितलाई सोमबार राहत बाँड्नुअघि नामावली तयार पारिँदै । तस्बिर सौजन्य : सिर्जना तामाङ

घाइतेलाई एउटै हेलिकप्टरमा राजधानी ल्याउन सकिने भए पनि नेताहरूको होडबाजीका कारण ६ जना घाइतेलाई उद्धार गर्न ५ वटा हेलिकप्टर प्रयोग गरियो । नेताहरू राहत र पुनर्वासको आश्वासन दिएर फर्किए ।

जम्बु पहिरो गएको पाँच सातापछि शुक्रबार जुगल गाउँपालिकाअन्तर्गत गोल्चेस्थित लिदी गाउँ पहिरोले बगायो । जसमा परी १९ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । सेनाको हेलिकप्टरबाट सभामुख सापकोटा, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपाने घटनास्थल पुगे । घटनाको भोलिपल्ट वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित तीन मन्त्री र प्रदेशसभा सदस्यहरू लिदी पुगे । सत्तारूढ पार्टीका नेताहरू र स्थानीय जनप्रतिनिधि हेलिकप्टरबाटै घटनास्थल गए । सबैले पहिरोपीडितको रक्षा, गाउँको सुरक्षा र विस्थापितलाई घर बनाइदिने आश्वासन दिए ।

यी पछिल्ला घटना मात्र होइनन्, ६ वर्षअघि सुनकोसी नै थुनिने गरी डाँडै खसेर गएको जुरेपहिरोमा पनि यस्तै दृश्यहरू देखिए । १ सय ४५ जनाले ज्यान गुमाएको उक्त घटनामा नेता, मन्त्री र उच्च पदस्थ कर्मचारी बोकेका हेलिकप्टर झन्डै एक महिनासम्म उडिरहे । नेताहरूको दौडधुप चल्यो, राहत र पुनर्वासका आश्वासनका चाङ लागे । अहिले पनि नेताहरूका लागि हेलिकप्टर राजनीतिक पहुँच देखाउने माध्यमजस्तै बनेको छ । जोखिममा परेका बस्तीलाई सुरक्षित गर्ने योजना बनाउनेभन्दा पनि बस्ती बगाएपछि राहत दिने प्रतिस्पर्धा राजनीतिक संस्कृति र संस्कारजस्तै बनेको छ । नेताहरू हेलिकप्टरमा घटनास्थल नगए राजनीतिक प्रतिस्पर्धामा पछि परिनेजस्तो ठान्छन् ।

वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेल जनताले पहिरोबाट बचाउन माग गर्दै जसलाई निवेदन दिए, त्यही मान्छे भोलिपल्ट राहतको पोको बोकेर जान थालेपछि जिम्मेवारी कसले बहन गर्ने भन्ने प्रश्न उब्जिएको बताउँछन् । त्रिपाल र राहतका पोका दिएपछि जनताले मागेको सुरक्षाको विषय गुपचुप हुने गरेको तर्क उनको छ । ‘सुरक्षा दिएर जनता बचाउनेभन्दा राहत लिएर जानेलाई ठूलो दाता मान्नुपर्ने अवस्था आयो,’ उनले भने ।

२०७१ सालको जुरेदेखि शुक्रबारको लिदी पहिरोसम्म आइपुग्दा पनि जब विपत्ति आइलाग्छ तब मन्त्री, सांसद र नेताहरूबीच हेलिकप्टरमा घटनास्थल पुग्न होडबाजी चल्छ । उनीहरू घटनास्थल जान्छन्, राहत र पुनर्वासको आश्वासन दिन्छन् । आश्वासनको सूची लामै बन्छ, थन्किन्छ र अर्को वर्षको पहिरोमा उनीहरूले फेरि त्यही दोहोर्‍याउँछन् । भूकम्पले सर्वाधिक क्षति गरेको सिन्धुपाल्चोकमा बर्सेनि पहिरो जाने क्रम बढिरहेको छ तर त्यसको नियन्त्रण र रोकथामका लागि भने प्रभावकारी योजना कुनै तहबाट पनि बनेको छैन । मान्छे मरेपछि मात्र समस्या देख्ने चलन बढेर गएको छ ।

जुरेपहिरोमा बाबुआमा गुमाएका राजकुमार कार्की मान्छे मरेपछि त्रिपाल र चामलको बोरा पाउनुको अर्थ नहुने बताउँछन् । कार्कीले विस्थापित भएपछि जुरेनजिकै घर बनाएका छन् तर त्यो पनि सुरक्षित छैन । पानी परेपछि माथिबाट माटोको लेदो बगेर आउन थाल्छ । रात परेपछि सुत्न अन्यत्रै जाने गरेका छौं,’ उनले भने । कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।