रोका काइँलो/हस्पिटल स्मरण
छिटो छिटो टुउटटुट कराउने आईसियू मेसिन भने बन्द भइसकेको थियो ।  अन्तर्राष्ट्रिय बालमैत्री हस्पिटल दोस्रो तल्ला भेन्टिलेटर आईसियू २१६ नम्बर अगाडी म ठिंग उभिएको थिए । घडीले बिहानीको चार हान्न केही पल मात्रै बाँकी राख्यो । भित्रबाट सेतो गाउनमा सजिएकी मंगोल वर्णकी नर्स आइन । एक पटक यसो हेर्नसाथ मलाई चिनि गइन् र निर्धक्क भनिन्, ‘तपाईको बच्चाले भेन्टिलेटरबाट पनि श्वास लिएन । हामीले बाहिरबाट पम्पमार्फत दिईरहेका छौँ । जम्मा चार पटक दिन मिल्छ, तीन पटक भयो ।’ आमालाई चाँही (बोल्न रोकिइन्) एकछिन वेट गर्नुहोस् भनेर फुत्त भित्र छिरिन् । म पनि के गरुँ के भएँ । उनकै ममीलाई हेर्न झरेँ । ढोकाको छेउमा सिमेन्टमाथि पातलो कपडामा कुनापट्टि फर्किएर निदाएको अवस्थामा पाएँ । मेरो चाहना अझैँ निदाईदिए हुन्थ्यो भन्ने भयो ।
                                                        …..
म बिल तिर्न एकाउन्टमा गए । बिरामीको नाम के भनेर सोधियो । मलाई नाम थाहै थिएन । एकाउन्टबाटै प्रविण हो भनेर सोधियो । थाहा छैन नाम त, मैले फेरि भने । सोधेर आउ भनेर प्रश्न गरे । पर्दैन भन्ने जवाफ आयो । उनी रहेछन् प्रविण कुटवाल । उनकी ममी अम्बिका मेरो भाउजुकी दिदी । अनि उनकै सानिमाकी छोरी पनि मेरो आफ्नै अर्की भाउजु ।
मैले साइनो जानेर होइन, सुरुदेखि नै दिदी भनेकाले दिदी नै भनिरहे । बिरामी प्रविणले मलाई अंकल भन्थ्यो । खोटांगमा ३ दिन उपचारपछि उनलाई असोज ३ गते बिहीबार उपत्यका बन्दको दिन हेलिकप्टर चार्टर गरेर काठमाडौँ ल्याइएको थियो । एयरपोर्टमा ओर्लिएका आमाछोरा जिल्लाकै एक जनाको सुझावमा चावहिलको हेल्पिंग हेन्ड्स सामुदायिक हस्पिटलमा भर्ना भएका रहेछन् । प्रेस कार्ड भएकाले उपत्यका बन्दमा पनि म दगुरेर त्यहाँ पुग्दा अवस्था जटिल देखिन्नथ्यो । मलाई लाग्यो, पाँच वर्ष अगाडी छोरी बितेकाले अत्तालिएर पो ल्याएका रहेछन् । ब्लड टेस्ट गर्दा भने इमर्जेन्सीमा कार्यरत चिकित्सकले बिपी लो तथा ब्लड इन्फेक्सन भएको, पेटमा पनि केही इन्फेक्सन भएको भने ।
निको हुन्छ त ? उनको भनाई थियो, डाक्टर आउन्जेल कुर्नुहोस् । केही समयपछि डाक्टर पनि आए, उनको नाम गणेश राई । छिमेकी जिल्ला भोजपुर घर । अझ ५ वर्ष बढी दिक्तेलमा बसेका रे । त्यो पनि बिरामीकै दाजुभाईको घरमा । ती घरवाला दाजुभाई पनि त्यहीँ आईपुगेका थिए । के गरौँ भनेपछि डाक्टरले यहीँ ठीक हुन्छ भने । उनीहरुको लामो सम्बन्धका कारण मेरो कुरो सुनिने पनि रहेन । मलाई त्यहाँ राख्न भने पटक्कै मन थिएन । त्यहीँ पनि हाँस्ने बोल्ने, खेल्न पनि सक्ने बिरामी भएकाले निको होला भनेर म धेरै कचकच गर्नेमा पुगिन । तीन दिन बित्दा पनि बिरामीमा सुधार आएन । म अफिसमा ९ त कहिले १० बजेसम्म नै आफ्नो काम सिध्याएर भएपनि एक पटक राती हस्पिटल पुग्थेँ । दोस्रो दिन जाँदा बिरामीको धड्कन बढेको थियो, ज्वरो पनि झनै उच्च । हातखुट्टा पनि निक्कै सुनिएको । सिस्टरहरुलाई सोधेँ किन यस्तो ? टाइफाइड हुँदा यस्तै हुन्छ, अत्तालिनु पर्दैन । अनि पूरै सुन्निएको छ त ? त्यो त बेलामा दिशा पिसाब नगरेकाले हो । म अहिले सम्झिदैँछु हेल्पिंग हेन्ड्सले मलाई कस्तो जवाफ दिएको रहेछ ।
अर्को दिन बेलुकी डा. राईले बच्चालाई आईसियूमा राख्नुपर्ने भन्दै अन्त लान भनेर निस्किएछन् । उनले दिएको औषधीले काम नगरेपछि उनी आफैँले अन्तर्राष्टिय बालमैत्री हस्पिटलमा आईसियू बुझेर त्यहाँ जानु समेत भनेका रहेछन् । बच्चाको बिपी लो, र ब्लड इन्फेक्शनले गर्दा हेल्पिंगले त्यो बच्चा सुरुमै भर्ना नगर्नु पर्ने खालको भएपनि सामाजिक उत्तरदायित्वको सट्टा व्यवसायिक फाइदालाई हेरेर हस्पिटलले भर्ना लिएको रहेछ भन्ने मेरो बुझाई भयो ।
                                       ……………
मैले मेरो परिचय बच्चाको अंकल भनेर गराए । त्यसपछि आईसियूबाट भेन्टिलेटर (अन्तर्राष्टिय बालमैत्री हस्पिटल) मा झार्ने जानकारी दिए । भेन्टिलेटर आईसियू खाली भएकाले र प्रविणको समस्या बढ्दै गएकाले जतिबेला जे पनि हुन सक्ने भन्दै उनलाई भेन्टिलेटरमा झार्न लागिएको थियो । 
बच्चालाई दिक्तेलमा ३ दिन, हेल्पिंगमा ३ दिन तथा बालमैत्रीमा पनि २ दिन आईसियूमा राख्दा समेत केही पनि सुधार भएको थिएन । सुरुकै औषधीले काम गर्नुपर्नेमा त्यतिबेलासम्म कुनै पनि औषधीले काम नगरेको र विपी लो पनि सुधार नभएको चिकित्सकहरु सुनाउँथे । के भएको भन्दा ब्लड इन्फेक्शन बढी मात्रामा भएको छ, तर त्यो इन्फेक्शन गर्ने जिवाणु पत्ता लागेन भन्थे । 
उनीहरुले बताए अनुसार, जिवाणु पत्ता नलाग्दा सुरुमा डेंगुका एन्टिभाइटिक चलाए, सुधार नभए पछि डेंगुकै हार्ड एन्टिभाइटिक चलाए त्यसपछि पनि केही नलागेपछि अन्य एन्टिभाइटिक चलाउन थालेका थिए । डा. बिनाले पनि रोग पत्ता नलागेको बताएकी थिइन् । उनीसँग भेन्टिलेटरमा सार्न अगाडी लामै समय कुराकानी गर्दा रोग नै पत्ता नलागेको बताइन् । डा. कल्पनाको पनि भनाई त्यस्तै थियो, उनीहरु जति औषधी चलाउँदा पनि सुधार नभएको भनेर भन्न थालेका थिए । बच्चा भने मलाई यहाँ नराख्नुहोस्, भन्थ्यो । जब म त्यहाँ पुग्थे त्यतिबेला उसले मलाई आफ्नो कोठामा लैजान भनेर ढिपी नै गथ्र्यो ।
……………
आईसियु कक्षमा एउटा प्वाल थियो । त्यहाँबाट भित्रका बच्चा देखिन्थे । प्रविण त अझ त्यसको ठिक अगाडी भएकाले प्रविणकी ममी बेला बेला जाँदै त्यहाँबाट चिहाउने गर्थिन । भित्र जाँदा ममी हौँ म यहाँ बस्दिन भनेर बच्चा चिच्याउने भएकाले भित्र नजानु हामीले भनेका थियौँ । हत्तपत्त भित्र छिर्दिन थिइन् । भेन्टिलेटर आइसियूमा भने प्वाल थिएन, प्वाल नहुँदा उनले यताउती खोजिन् भित्रको बच्चा हेर्ने ठाउँ नभेटेपछि माथि त प्वाल थियो, यहाँ त छैन कसरी हेर्नु भनेर खुट्टा ठकठकइन् । आईसियू भर्नापछि उनको काम पनि हस्पिटलमा कति बच्चा ल्याउँछन्, कति उपचार सफल भएर फर्कन्छन् त कति फर्कनन् भनेर गन्दै बस्ने । अनि मलाई भेटेपछि सुनाउने काम हुन्थ्यो । 
एक पटक यहाँ त ३ करोड बच्चा ल्याउँदा रहेछन् भनेपछि म हाँस्दै नेपालीको जनसंख्या नै ३ करोड छैन भनेर हाँसिदिए । सच्याउँदै १ करोड चाँही आउँदा रहेछन् भन्नुभयो । यत्रो दिनसम्म उस्तै छ, औषधीले पनि काम गरेको छैन भन्छन् भनेर मलाई सुनाउँदा नसुने जस्तै गरी म बाहिरतिर हेर्थे । यो पनि बाच्दैन कि के हो भन्दा म भुईतिर हेर्थे । भाई म कसरी बाच्नु यो पनि केही भयो भने मेरो त सहारा पनि केही छैन भन्दा निराशाले नथाकी सकेको तर मलिन बन्दै गरेको मेरो अनुहार त्यतै फर्काएर त्यसो होइन भन्दै सम्झाउँथे । सम्झाउन पनि मलाई निक्कै गाह्रो थियो, प्रविणकै दिदी अहिले १० वर्षकी हुन्थिन्, उनले बिदा लिँदा ठिक पाँच वर्ष अगाडी कान्तिबाल हस्पिटलमा आईसियूमै थिए । उनले बिदा लिँदा मन थाम्न नसकेर म पनि रोएको थिए । 
अहिले प्रविणको बुवा कतारमा प्रविणकै भविष्यका लागि पसिना चुहाउँदैछन् । प्रविण भने भेन्टिलेटर आईसियूमा मृत्युसँग लडाई लडिरहेको छ । उनकी ममी मसँग प्रविणलाई केही भएमा कसरी बाँच्नु भनेर पीडा पोखिरहेकी छिन् ।
                 ……………
बालमैत्री भर्ना गरेको तेस्रो दिन अफिसको काम सकेर बेलुकी ९ बजे म हस्पिटल पुगें । दिउँसो भेन्टिलेटर आईसियूमा सारिएको थियो । आफू पनि अस्वस्थ भएकाले बच्चाको ममी, फुपु र ठूलो बुवालाई छाडेर म डेढ

घण्टापछि हस्पिटलबाट निस्किए । कोठामा आएर के निदाउन मात्र लागेको थिए । फोन बज्यो, ब्लड चाहिएको रहेछ । ब्लड बैंकबाट ब्लड पुर्याईदिए । बच्चा भेन्टिलेटरमा थियो । एउटा एन्टिभाइटिक २ घण्टा अगाडी, एउटा ४ घण्टा त एउटा ६ घण्टादेखि चलाईएको रहेछ । अरु एन्टिभाईटिकले काम नगरेपछि ती नयाँ एन्टिभाइटिक चलाइएको नर्सले जानकारी दिइन् । रातको २ बजिसकेको थियो । ममी र फुपु भुईतिरै, अस्वस्थका कारण हामी खाटमा सुत्यौँ । चार बज्न केही मिनेट बाँकी रहँदा प्रविण कुटवाल भनेर पाले दाई कराए । मैले हात उठाए । आँखा मिच्दै दोस्रो तल्लामा चढें । बच्चालाई भेन्टिलेटरबाट छुटाएको र बाहिरबाट पम्प दिईरहेको भन्दै एकछिन वेट गर्नुहोस् भनेर नर्स भित्र पसिन् । जतिबेला उनकी ममी र फुपु भुइँमा सुतिरहेका थिए ।

मंगलबार (असोज ८ गते) बिहान घडीले ठिक ४ बजाएको थियो । म गाउनमा भित्र छिर्दा बच्चाले सदा सदाका लागि हामीबाट बिदा लिईसकेको थियो । बिहान मात्र ममीहरुलाई जानकारी दिने सल्लाहपछि फर्कदा भने मनै मानेन । भित्तामा एक पटक टाउको ठोक्काऊ झैं भयो । पाँच वर्ष अघि पनि उनकी दिदीले यसै गरेकी थिइन् । मेरै अगाडी उनले पनि संसारबाट बिदा लिएकी थिइन् । झलझली यादले भित्रैदेखि पिरोले पनि, सम्झदा मनमा तापले भतभत पोले पनि, नपोले झैं गर्नुपर्ने बाध्यता मेरो अगाडी थियो ।

……………
आँखामा कालो बादल नै लागेपनि वर्षाका लागि मलाई प्रतिबन्ध थियो । ममी र फुपु त्यहीँ छँदा यस्तो भो भनेर भन्ने कुरै रहेन । स्थिति असामान्य हुन्छ भनेर मैले फकाएर बालाजुस्थित आफन्तका पुर्याए । भित्र मेरो मन रोएको थियो, बाहिर हास्दै मैले मज्जाले ढाँटेको थिए, यहाँ बच्चाको अवस्था उस्तै छ, आज अझ ठूलो डाक्टरलाई देखाउँछौँ । तपाईहरुलाई त्यहाँ पुर्याईदिन्छौँ । अनि दिउँसो लिन आउँछु भनेर ढिपी कसेपछि जान सहमति जुर्यो । फर्कदा नमज्जाले बाइकबाट मछारिए पनि । एकछिन त सारै हुनेगरी । हिसाबकिताब मैले नै मिलाउन थियो । पैसा नपुग्ने उत्तिनै टेनसन । 
 हस्पिटल चार्ज २० प्रतिशत डिस्काउन गर्दा गोजीको पैसाले भ्यायो । औषधी फार्मेसीमा ५ हजार डिपोजिट गरेको थिए तर १८ हजारको औषधीको बिल पुगेको रहेछ । त्यो पनि लभगभ ५३ घण्टामा । पहिलो दिन नै हस्पिटल चार्ज १७ हजारको बाँकी बिल हात परिसकेको थियो । महंगोको त कुरै छाडौँ । यता, बच्चाका कटुवाल दाजुभाईहरु भने काठमाडौँमा घर बनाईसकेका सुविधासम्पन्नशाली पनि थिए । तर मृत बच्चाको नाममा २, ४ सय खर्च गर्न हिचकिचाउने । ससाना व्यवहारहरु पनि आफैँ मिलाउँनै पर्ने ।
 अघिल्लो बच्चाको पीडा र अहिलेकोले गर्दा पनि मलाई भने भित्रभित्रै झनै पोलेको पोलै थियो । त्यसैले पनि पशुपति पुर्याउँदा म शव बाहनको पछि पछि हेल्मेटको अगाडीको कालो सिसा भित्र अनुहार लुकाएको थिए । केही गरी आँशु झरेमा अरुले नदेखुन भनेर । हस्पिटलबाट पशुपति पुर्याउँदासम्म मेरो अनुहार पूरै सिसा भित्रै । अरुले चियो नै नपाउने गरी ।
                                             ……………
 बच्चा शब बाहनमै पशुपति परिसरमा राखिएको थियो । ममीलाई एक पटक अनुहार देखाउने भनेर बोलाईयो । पशुपतिमा ममी पनि पुगिन् । अलिकति टाडै हुँदा भाई प्रविणलाई आईसियूबाट निकाले हो र ? अत्तालिदै प्रश्न गरिन्, हो, मैले भने । किन त्यहाँबाट निकालेको त चर्को स्वर थियो, म बोल्न सकिन । उनलाई त्यहाँ ल्याउँदा झुक्याएर पो ल्याइएको रहेछ, भनेरै ल्याउनु भनेका थियौँ । 
बच्चाको भौतिक शरीर देख्ने बित्तिकै ममी भुइँमा लडिन् । प्रविण प्रविण भन्दै निक्कै चिच्याइन् । अरुले बच्चालाई बोकेर अगाडी बढाए । फुल अविर लगाए । अगाडी ठूलो खाल्डो खनिएको थियो ।  म अर्कोपट्टी फर्किए, फेरि एउटा फोटो खिँचे अनि भुइँतिर निहुँरिए । ‘एउटी छोरी यतै कता पुरेको, यो पनि यहीं रह्यो । आमा कसरी बाँच्दीहोला, भगवानले नै दुवै सन्तान लगे’ कोही कोही त्यहाँ भन्दै थिए, ‘शत्रुलाई पनि यस्तो नहोस् …।’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।