काठमाडाैंकाे गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् । सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब १०:१५ बजे चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भन्ने सूचना प्राप्त भएको थियो ।

सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये काठमाडाै‌ंकाे चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रन्जीत महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी–५ का केदार श्रेष्ठ, धादिङकाे सिद्धलेक–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी–६ का २५ वर्षीय सविन तामाङ रहेका छन् ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।