सार्वजनिक स्थलमा सम्भोग गरेको अभियोगमा बाख्राका पाठापाठीले नमज्जाले एक-एक लात खाए। सडकको किनारमा तिनीहरुले अघी देखी जिस्काजिस्की खेलीरहेका थिए। यत्तिकैमा एकजना ‘सज्जन’ आएर उनीहरुलाई नराम्ररी भकुरे। अछामबाट फर्कदै गर्दा जयगढ भन्ने ठाउँमा यो दृष्य देखिएको हो ।
घटना सामान्य हो तर हाम्रो समाजमा यौनलाई कति बर्जित गरिएको छ भन्ने कुराको यो एउटा उदाहरण हो। हामी मनुष्य जाति साह्रै ढोंगी छौं। हामी दिनरातको पर्वाह नगरीकन त्यही क्रियाकलापमा लिप्त छौं। यौन प्राणी जगतको जैविक आवश्यकता हो। यसलाई नकार्नु जरुरी पनि छैन तर त्यही क्रियाकलाप जनावरहरुले सार्वजनिक स्थलमा गरे भने हामी देखी सहदैनौं। हामी मानब जाति पो अति संकालु छौं र हामीलाई यो विशिष्ट कर्मको लागि गोप्य ठाउँ चाहिन्छ। जनावरहरु त त्यस्ता हुदैनन्। उनिहरुले आफुलाई सहज लागेको ठाउँमा यौनक्रिडा गर्छन्। यसको लागि के उनीहरुले पनि बेडरुम नै जानु पर्छ त ? यस्तो कामलाई असजिलो ठान्नेहरुले उनीहरुको लागि पनि बेडरुम बनाइदिनु पर्यो कि त। हैन भने यो उनीहरुको अधिकारको विषय हो भन्ने बुझेर सहज रुपमा लिनु पर्यो।

वास्तबमा जनावरहरु यौनको मामिलामा एकदमै अनुशासित हुन्छन्। बलात्कारी मान्छेलाई ‘नरपशु’ भन्न भ्याउँछ यो सभ्य समाज तर यसो भन्नु जनावरहरुको घोर अपमान हो। कुनै पनि पशुले उमेर नपुगेकासँग कहिल्यै सम्भोग गर्दैन। बलात्कार पशुहरुमा कहिल्यै हुँदैन। ऋतु र समयचक्र मिलाएर मात्रै मानव बाहेकको प्राणीजगत सम्भोगको लागि तयार हुन्छ। उदाहरणको लागि कार्तिकमा सन्तानोत्पादन् गर्ने उदेश्यले मात्रै कुकुरहरु सम्भोगमा लिन हुन्छन्। त्यही पनि मान्छेले देखी सहदैनन्। सम्भोगरत् अवस्थामा कामातुर जोडीलाई मर्मस्थलमा प्रहार गरी लखेटेको धेरै देख्न पाइन्छ। प्रकृतिले उनीहरुलाई दिएको प्रसादलाई यो ढोंगी समाज किन देखी सहँदैन हँ ?

हल्याण्डमा जनावरको हक अधिकारको लागि आवाज उठाउने एउटा राजनीतिक दल नै छ। दुईजना सांसदहरु त्यस पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छन्। जनावरले पनि मान्छेले जस्तै गाँस, बास, स्वास्थ्य सुविधा र हेरचाह पाउनु पर्छ भन्ने त्यस पार्टीको माग छ। समयचक्र अनुसार आफ्ना जोडीसँग संसर्गमा रहन पाउनु, निश्चित क्षेत्रभित्र स्वतन्त्रतापुर्वक बाँच्न पाउनु जनावरका अधिकार भित्र पर्छन्। यदि ब्यवसायिक प्रयोजनका लागि जनावरको मासु बनाउनु परेमा कष्ट नदिइकन मार्नु पर्ने हुन्छ। यस्ता मागहरु छन् त्यो पार्टीको।

राजधानी आम्स्टरड्यममा त्यो पार्टीले यस्तै अपिल गर्दै एउटा कार्यक्रम गरेको बेला संयोगले म पनि त्यहाँ पुगेको थिएँ। मैले खुल्दुली थाम्न नसकेर त्यो पार्टीका कार्यकर्ताहरुलाई बिभिन्न प्रश्नहरु सोध्दा पहिला त उनीहरुले म कुन देशको हो भनेर सोधेका थिए। मैले आफ्नो देशको नाम बताए पछी उनीहरुले भनेका थिए, “अहो बुद्ध जन्मेको देश ? तिम्रो देशमा त जनावरहरु साह्रै सुखी होलान है ?” मैले मनमनै आफ्ना देशका जनावरहरुसँग माफी मागें र यताउतीका कुरा गरेर प्रसंग मोडेको थिएँ। म कसरी भनुँ कि हामी जनावरहरु प्रति कति अशहिष्णु छौं भनेर। त्यसपछी उनीहरुले मसँग फोटो पनि खिचेका थिए।

अब फेरि बाख्राका पाठापाठीलाई लात्तले गोदेको प्रसंगमै फर्कौं। जनावरले लुगा नलगाउँदा लाज नमान्नेहरुले उनीहरुले सम्भोग गर्दा चाँही किन लजाउनु पर्यो ? गाईले साँढे खोज्यो भनेर डोर्याउदै साँढेकहाँ पुर्याउनेहरु कुकुरले त्यही कर्म गरिरहेको देखे भने लाठो हानेर लघार्छन्। ए बाबा, अप्ठेरो मन्नेहरुले मुन्टो अर्को तिर बटारेर हिड्दा हुन्न ? – मेघराज रसाईलीको ब्लगबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।