काठमाडौँ — पछिल्ला १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडक नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याउन लागिएको ६९९.२ किलो सुन बरामद भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ देखि चालु आर्थिक वर्ष ०८०/८१ सम्म उक्त परिमाणमा सुन बरामद भएको हो ।

शनिबारको मूल्यअनुसार उक्त सुनको मूल्य ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी हुन्छ । यस अवधिमा बरामद सुनबाट ५ अर्ब ९ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । साथै सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् ।

सरकारी निकायले अवैध सुन चोरी पैठारीमा कडाइ गरेको दाबी गर्दै आए पनि तस्करी भने रोकिएको छैन । चालु आर्थिक वर्षको ५ महिनामै ९३ किलो सुन नियन्त्रणमा लिइएको छ । तस्करीमा संलग्न रहेको आरोपमा ९४ जना पक्राउ परेका छन् । गत असार २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच गराएर बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको ५ महिना नपुग्दै बिहीबार मध्यराति १४ किलो सुन भन्सार विभागले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ । बिस्कुट आकारको २/२ केजी तौलका ७ थान सुन ज्याकेटभित्रको भित्री भागमा बोकेर ल्याएका गोरखा बारपाकका चन्द्र घले पक्राउ परेका छन् ।

उनले दिएको बयानका आधारमा दुबईबाट सुन बोकेर ल्याउन लगाउने बारपाककै मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ । घलेद्वय बारपाकका सामान्य व्यक्ति रहेको र भरियाका रूपमा प्रयोग मात्र भएको हुन सक्ने अनुसन्धान अधिकारीहरूको प्रारम्भिक अनुमान छ । सुन तस्करीबारे विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएर अनुसन्धान जारी राखेको छ । शुक्रबार दिउँसो नागढुंगा नाकामा रसुवाबाट ल्याइएको दुई केजी सुनसहित ३ जना पनि पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले विगतदेखि नै सडक नाकाभन्दा विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको बताए । ‘धेरैजसो सुन एयरपोर्टबाट आउँछ । सीमानाकाबाट पनि आइरहेको छ,’ उनले भने, ‘प्रहरीले तस्करी नियन्त्रण गर्न नाकामा चेकिङ र सुराकीका आधारमा खोजबिन जारी राखेको छ । अवैध ढंगले सुन ल्याउने काम घटबढ भइरहेको देखिन्छ ।’ कान्तिपुरमा समाचार छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।