मोबाइल अफ गरेर भाग्दाभाग्दै पक्राउ परेका थिए सीईओ पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे माेबाइल अफ गरेर भाग्दै गरेकाे अवस्थामा पक्राउ परेकाे खुलेकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्षसमेत रहेका पाण्डेले प्रयोग गर्दै आएको मोबाइल फोन स्विच अफ गरी भाग्दै गर्दा पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित मदनभण्डारी राजमार्ग क्षेत्रमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पाण्डेलाई मंगलबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सिआईबीले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन तथा लिलामी प्रक्रियासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।