काठमाडौं । काठमाडौं महानगरपालिकाले मौसमजन्य विपत्तिको न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् व्यवस्थापन समितिको बेठक बसेर तयारी अगाडी बढाएको छ ।
समितिले वर्षाको कारण आउन सक्ने बाढी, पहिरो तथा डुबान जस्ता मौसमजन्य विपत्तिको न्यूनीकरण र व्यवस्थापनका लागि वडा कार्यालहरुले आफ्नो विनियोजित बजेटबाट खर्च गर्ने र खर्च वडामा विनियोजित बजेटबाट नपुग भई वडा कार्यालयबाट माग गरेमा खर्च विवरण लगायतका कागजातका आधारमा महानगरको विपद् व्यवस्थापन कोषबाट पैति वडा बढीमा २ लाखसम्म सोधभर्ना वा भुक्तानी स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै, बाढी, पहिरो तथा डुबान जस्ता मौसमजन्य विपत्तिको न्यूनीकरण र व्यवस्थापनका लागि महानगरको विपद् व्यवस्थापन कोषबाट विपद् व्यवस्थापन विभागले विपद् व्यवस्थापन विषयगत समितिको निर्णयानुसार २० लाखसम्म खर्च गर्न सक्ने निर्णय समेत गरेको छ ।
महानगरले महानगर प्रहरी वल, वडा कार्यालय र वडास्तरीय विपद व्यवस्थापन समितिबीच आपसी सहयोग, समन्वय तथा सूचना आदानप्रदानलाई प्रभावरकारी बनाउने निर्णय पनि गरेको छ ।







