काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम रद्द गरी सिरियल नम्बर सहितका फारम छापेर जिल्ला/जिल्लामा पठाउने निर्णय गरेको हो ।

समितिका सदस्य प्रकाश स्नेही रसाइलीले २४ घण्टाभित्र सिरियल नम्बर सहितका फारम छापेर जिल्ला/जिल्लामा पठाउने निर्णय समितिले गरेको जानकारी दिए ।

महामन्त्री गगन थापा नेतृत्वको समितिमा सिरियल नम्बर नभएका क्रियाशील सदस्यताका फारम फिर्ता माग्ने कि त्यसैमा भर्न लगाउने भन्नेमा विवाद थियो ।

महामन्त्री थापा र सदस्य स्नेही त्यही फारम भर्न लगाउने पक्षमा थिए । तर समितिमा रहेका संस्थापन पक्षीय दुई सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङ ती फारम फिर्ता ल्याएर नयाँ सिरियल नम्बर सहितका फारम पठाउनुपर्ने पक्षमा थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।