काठमाडौं । भोटेकोशीबाट त्रिशुली हुँदै बाढी गएको ११ औं दिनमा नुवाकोटको बेत्रावतिमा एक वृद्धाको जिवितै उद्दार गरिएको छ ।
बगरमा मान्छेको आउजाउसँगै बाटो खन्ने काम समेत सुरु भएको अवस्थामा बगाएर ल्याएको एउटा घरभित्रबाट मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो ।
त्यसपछि प्रहरीको उद्दार टोलीले ६४ वर्षिया चन्डिका श्रेष्ठलाई उद्दार गरिएको थियो ।
उनलाई उद्दार गरिएको ठाउँ भन्दा ५० मिटर टाढा उनको घर थियो । तर, बाढीले बगाएर घर र उनलाई त्यो ठाउँसम्म ल्याएको थियो । उनी ११ दिनसम्म त्यहीँ बगाएर ल्याएको घरभित्र अड्किएर बसेकी थिइन् ।
उनको उद्दारपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ । सुरक्षाकर्मीले उनको अवस्था सामान्य रहेको जनाएका छन् ।
यसअघि अपर त्रिशूली–१ बाट पनि आजै एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । त्यस्तै, हिजो त्रिशूली–३ ‘ए’ को सुरुङबाट २ जनाको उद्धार गरिएको थियो ।




