काठमाडौं । विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई मतदानको अधिकार दिने विषयमा अहिलेसम्म ठोस सहमति हुन सकेको छैन ।

काठमाडौँमा हालै राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोगबिच भएको ६ घण्टा लामो छलफलमा पनि उक्त विषय टुंगोमा पुग्न सकेन । बरु बैठकपछि शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत लामो समयसम्म चलेको उक्त बैठकमा समस्याको समाधान खोज्नुको साटो नेता र नागरिक समाजका अगुवाहरूले केवल भाषणबाजी मात्र गरेको र ६ महिने सरकारको कमजोरी देखाएर समय खेर फालेको आरोप लगाएका छन् ।

मन्त्री पुनले देशका प्रमुख शक्तिहरूले कुनै पनि समस्याको निकासका लागि सृजनशील र ठोस राय दिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।

वर्तमान राजनीतिक नेतृत्व, दल र नागरिक समाजले देशलाई दुर्घटनातर्फ धकेलिरहेको उल्लेख गर्दै उनले अबको नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखेका छन्। देशलाई सङ्कटबाट बचाउन र वास्तविक परिवर्तन ल्याउनका लागि आगामी निर्वाचनमा युवाहरू ज्यान फालेर लाग्नुपर्ने उनको तर्क छ।

काठमाडौँका सडकमा केवल जुलुस निकालेर मात्रै परिवर्तन नआउने भन्दै उनले युवाहरूलाई चुनावी मैदानमै उत्रिएर नेतृत्व लिन आह्वान गरेका छन्। विदेशमा रहेका लाखौँ नेपालीको भावना र अधिकारलाई लत्त्याउँदै राजनीतिक नेतृत्वले केवल सत्ता र शक्ति तानातानमा समय बिताएको भन्दै मन्त्री पुनले यस प्रवृत्तिले मुलुकलाई नराम्रोसँग डुबाउने चेतावनी समेत दिएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।