काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका कारण सभामुख भीमबहादुर भण्डारीले पद रिक्त गर्नेसम्बन्धी सचिवालयको टिप्पणी आदेश सदर गरेका हुन्। यस निर्णयको औपचारिक जानकारी सभामुखले भोलिको प्रदेशसभा बैठकमा गराउने छन्।
नेपालको संविधानको धारा १८० (घ) र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० अनुसार सभालाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद स्वतः रिक्त हुने कानुनी व्यवस्था छ। कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित कांग्रेस सांसद देउवा पछिल्ला २७ वटा बैठकमा निरन्तर अनुपस्थित रहेका थिए। दोस्रो कार्यकालका १२८ बैठकहरूमध्ये उनी जम्मा ६० वटामा मात्र सहभागी भएका थिए।
गत वर्ष भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा त्यहीँ बिरामी परेर उपचार गराइरहेको दाबी गरिएको थियो। गत चैतमा उनले स्वास्थ्य समस्याका कारण उपचाररत रहेको भन्दै पत्र पठाए पनि त्यसयता चार महिना बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।
लामो समय देशबाहिर र बैठकमा अनुपस्थित रहे तापनि प्रदेशसभा सचिवालयले उनको खातामा नियमित सेवा-सुविधाबापतको रकम जम्मा गरिरहेको थियो। ११ महिनाको अवधिमा उनले मासिक पारिश्रमिक, सञ्चार, बिजुली र अतिथि सत्कारलगायतका विभिन्न शीर्षकमा कुल ७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी लिएका छन्। बिचमा रोक्का गरिएको उक्त रकम कानुनको प्राविधिक जटिलता दर्शाउँदै एकमुस्ट निकासा गरिएको थियो।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाशबहादुर देउवा लामो समयदेखि सम्पर्कविहीन बनेपछि उनका क्षेत्रका मतदाताहरू समेत रुष्ट बनेका थिए। अन्ततः प्रदेशसभा सचिवालयको यस कदमसँगै उनको सांसद पद औपचारिक रूपमै समाप्त भएको छ।




