काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहन बस्नेत जोडिएको बहुचर्चित टेरामक्स प्रणाली खरिद प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा अदालतले थप प्रमाणहरू मगाउने र विज्ञको बकपत्र गराउने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो ।पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको हो ।
अदालतले टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध परेका रिटहरूमा सर्वोच्च अदालतबाट भएका आदेशहरूको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ ।
यस्तै, अदालतले यस प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नियुक्त गरिएका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ ।








