काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नै बैंकका महत्वपूर्ण वित्तिय विवरण लुकाउन खोजेको पाइएको छ ।
बैंकको २५ औं साधारणसभा आगामी ३० पुसका लागि आह्वान बोलाईसकिएको छ । सोही साधारणसभामा सहभागी हुने सेयरधनीका लागि बैंकले २५ औं वार्षिक प्रतिवेदन आ.व २०८१/८२ तय गरेको छ ।
उक्त प्रतिवेदनमा अडिट रिपोर्टको महत्वपूण पक्षहरु नै गायब पारिएको छ । प्रतिवेदनको सुरुमा नै संक्षिप्त वार्षिक आर्थिक विवरण भनेर उल्लेख गरेको छ भने मिति २०८२/०९/३० गते हुने पच्चीसौ वार्षिक साधारणसभाको प्रयोजनका लागि भनेर लेखिएको छ । बैंकका एक कर्मचारीले उक्त प्रतिवेदन छपाईको लागि गईसकेको समेत बताए ।
उक्त वार्षिक प्रतिवेदनमा अडिट मन्तव्य समेटिएको छ । तर, बैंकको वास्तविक जोखिम, प्रोभिजन, कन्टिजेन्स रिस्क, एनपिएल, रिलेटेड पार्टी ट्रान्जिशन, कन्टिजेन्स लाईबिजिट, अकाउन्टिङ पोलिसिज्, क्यास फ्लो इन्टेटमेन्ट अन्तर्गत अप्रेटिङ, इन्भेष्टिङ तथा फाइनान्सिङ एक्टिभिजिटका साथै इस्टेटमेन्ट अफ चेन्ज इन इक्वालिटी जस्ता विषय समेत समावेश गरिएको छैन ।
के भन्छ बैंक
बैंकका सुचना अधिकारी चन्दन कार्कीले साधारणसभाका लागि बैंकको वार्षिक प्रतिवेदन तय भएको स्वीकार गरे । उनले हतारमा भएकाले अहिले सबै विवरण समावेश गर्न नसकेको बताए ।
‘अहिले हतारमा भएकाले सबै वित्तिय विवरण समावेश गर्न नसकिएको हो, साधारणसभा अगाडी नै हामी सबै वित्तिय विवरण समावेश भएको अडिट रिपोर्ट तय गर्छौं ।’ उनले हेलोखबरसँग भने ।

राष्ट्र बैंकको निर्देशनले अप्ठ्यारोमा बैंक
वित्तिय प्रतिवेदन सम्बन्धी विषयमा राष्ट्र बैंकको निर्देशनात्मक सहमतिका कारण कुमारी बैंकलाई अडिट रिपोर्ट तय गर्न नै सकस परेको स्रोत बताउँछ ।
केन्द्रीय बैंकले पुँजीकोष अनुपात सम्बन्धी व्यवस्था पालना नभएको भन्दै कडा निर्देशन दिएको थियो । त्यस्तै, लेखापरीक्षणमा उल्लेख गरिएका कैफियतहरु पूर्णरुपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउन समेत निर्देशन दिएको थियो ।
बैंक स्रोतका अनुसार कर्जाका विषयमा पनि बैंकभित्र ठूलो समस्या रहेको छ । कागजी रुपमा मिलाउँदा भविष्यमा राष्ट्र बैंकको कारबाही तथा सिआईबीको छानबिनमा परिने सम्भावना छ भने यथार्थ देखाउँदा एनपिएल नै राष्ट्र बैंकले तोकेको सिमा भन्दा धेरै माथि जाने सम्भावना छ ।
के छ पहिलो त्रैमासिक विवरण ?
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार बैंकको बफर बलियो छैन । रिटेन्ट अर्निङ पनि नकरात्मक छ । पहिलो त्रैमासिक अवधीमा रिटेन अर्निङ ३.९२ अर्ब रुपैयाँ माइनस रहेको छ । बैंकको वितरणयोग्य नाफा समेत माइनस ३.९१ अर्ब रहेको छ । एनपिएल ६.९८ प्रतिशत पुगेको छ । बैंकले भविष्यमा ठूलो मात्रामा प्रोभिजन छुट्याउनु पर्दा टायर वान घट्न जाने देखिन्छ । आन्तरिक पुँजी सुदृढीकरण गर्न बैंक व्यवस्थापन असफल बन्दै गएको देखिन्छ ।








