Thursday, August 27, 2026
26.1 C
Kathmandu
Home समाचार बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल

बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल

काठमाडौं। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतमा सक्रिय रहेको वाईसिएल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ।

वाईसिएल नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित रक्तदान कार्यक्रममा १७० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले जानकारी दिए ।

चीनतर्फबाट आएको बाढीका कारण रसुवा , नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै वाईसिएल नेपालले उद्धार तथा राहतलाई तीव्र बनाएको जनाएको छ। बाढीका कारण सयौँको मृत्यु, सयौँ घाइते तथा ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्थामा तत्काल उद्धार र खोजी कार्यलाई प्राथमिकता दिइएको वाईसिएल नेपालले जनाएको छ।

वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीका अनुसार जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा वाईसिएल परिचालन गरिएको छ।

वाईसिएल नेपालका अनुसार आज बिहानदेखि मात्रै करिब ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा परिचालन भएका छन्। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने र प्रभावित परिवारको गास, बास तथा अन्य आवश्यकतामा सहयोग गर्ने योजना रहेको अध्यक्ष ओलीले बताए।

विपद्को यस कठिन घडीमा उद्धार, राहत, उपचार र रक्तदानलाई एकसाथ अघि बढाउँदै वाईसिएल नेपाल जनताको दुःखमा, जनताको सेवामा भन्ने अभियानसहित प्रभावित क्षेत्रमा सक्रिय रहेको जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।