काठमाडौँ, ८ असोज । नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा कर्मचारीले तोडफोड गरेका छन् ।

गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा आज प्रशासनतर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको थियो । सो क्रममा दुई पक्षबीच हात हालाहाल समेत भएको थियो ।

    झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन् ।
   
झडपको क्रममा कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडि रहेको पाँच वटा झ्यालका सिसा फोड्नुका साथै कुर्ची र गमला समेत तोडफोड गरेका छन् ।

    प्रशासनतर्फका कर्मचारी बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको भन्दै इञ्जिनियरहरूले आचार्यको कार्यकक्ष अगाडि विगत १५ दिनदेखि अनशन बसिरहेका थिए ।

दसँै नजिकिँदै गर्दा टेलिकमको दसैँ योजना सञ्चालनमा समेत आन्दोलनकर्मीले अवरोध पु¥याएको भन्दै प्रशासनतर्फका कर्मचारी इञ्जिनियरहरूका विरुद्ध आज आन्दोलनमा उत्रिएपछि दुवै पक्षबीच झडप भएको हो ।

झडपलगत्तै आएको प्रहरीले प्रदर्शनकारी कर्मचारहीलाई तितरवितर पारेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।