काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई कुनै व्यक्ति वा नेता विशेषको नभई संस्थाको मान्छे बन्न आग्रह गरेका छन् ।
हालै पोखरामा सम्पन्न नेपाल प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिलाई आज आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिने क्रममा प्रधानमन्त्री कोइरालाले प्रेस युनियनका सदस्यहरुलाई पनि कुनै गुट उपगुटका पछाडि नलागी पत्रकारिताको सिद्धान्त र पार्टीको विचारप्रति प्रतिबद्ध रहन आग्रह गरे ।
आफ्नो पार्टी नेपाली काँग्रेस एक भएर पनि दुई पार्टी जस्तो देखिएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मा अब युवा वर्गको काँधमा आएको बताए ।
प्रधानमन्त्री कोइरालाले भने, “काँग्रेस विचार र सिद्धान्तका आधारमा सम्पन्न पार्टी हो, यसको भविष्य सधँै उज्ज्वल रहेको छ । यसलाई जोगाउने अभिभारा अब तपाइँहरुजस्ता युवाको हो ।”
फरक प्रशङ्गमा प्रधानमन्त्री कोइरालाले तोकिएको समयमा लोकतान्त्रिक संविधान बन्ने आशा व्यक्त गर्दै त्यसको तयारीका लागि सर्वपक्षीय राष्ट्रिय भेलाको समयसमेत तोकेर संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याइने विश्वास दिलाए ।








