सोलुखुम्बु, २४ साउन । कसैसँग तपाईंको प्रेम प्रसङ्ग चलेको छ भने माया गर्ने बहानामा पैसाको कारोबार नगर्नुहोला । किनकि तपाईंको माया सफल हुन सकेन भने तपार्इंले दुःख पाउनु हुनेछ ।

माया सफल नभएर केटाले अर्कैसँग विवाह गरेपछि सोलुखुम्बुकी सुनिता राईले आफ्नो प्रेमीलाई दिएको पैसा उठाउनका लागि दुईपटक न्यायिक निकाय धाइसकेकी छिन् ।

सोलुखुम्बु बासा–६ की सुनिताको वाकुका नवीन मगरसँग प्रेमसम्बन्ध चलेपछि नवीनलाई २०६८ सालमा रु २५ हजार नगद र २०६९ भदौमा छ आनाको सुनको आँैठी दिएकी थिइन् ।

उनीहरूको प्रेम सफल नभएपछि २०७० भदौ १० गते वाकु प्रहरी चौकीमा कागज बनाइ २०७० पुसमा फिर्ता गर्ने सहमति भएको थियो । तर हालसम्म पनि पैसा र सुन फिर्ता नदिएपछि अहिले उजुरी गर्न सुनिता घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा आएको सहजकर्ता उर्मिला बस्नेतले बताइन् ।

तर सुनिताका भूपू प्रेमी नवीनले भने पैसा दिने सहमति भएको समयमा पैसा लिन नआएकाले फिर्ता नगरेको बताएको केन्द्रले जनाएको छ ।

नवीनले पैसा र औँठी फिर्ता नगरेपछि सुनिताले नवीनको श्रीमतीसँग समेत झगडा गरेपछि हिजो सो केन्द्रमा छलफल गरी १५ दिनभित्र नगद र सुनको औँठी फिर्ता गर्ने कागज बनाइएको सहजकर्ता बस्नेतले उल्लेख गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।