काठमाडौं २७ वैशाख । नेपालमा फेरि तीन जिल्लामा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३ जना, कपिलवस्तुमा ३ जना र पर्साको छपकैयामा एक जना नयाँमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्यामा १०९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसारउदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भुल्केका १८, ४५ र ६० बर्षीया महिलामा संक्रमण फेला परेको हो ।

कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।