श्रीमान डेकेन्द्रको मुद्धा म्युजिक भिडियोको प्रोमो हो ? (भिडियोसहित)

माघ १९ – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या मुद्धाको विषयमा विपक्षी वकिलहरुले उक्त मुद्धा नियमित अदालतको क्षेत्राधिकार भित्र नपर्ने भएकाले खारेज गर्न माग गरेका छन् ।

बिहीबारदेखि दैलेख अदालतमा सुरु भएको उक्त मुद्धाको थुनछेक बहसमा सहभागी प्रतिवादी वकिलहरुले सर्वोच्च अदालतको यसअघिका नजिरहरुलाई आधार मान्दै र विस्तृत शान्ति सम्झौता र त्यसैको जगबाट बनेको अन्तरिम संविधानको पनि पालनाका लागि यस घटनाको मुद्धालाई नियमित अदालतको क्षेत्राधिकार भित्र राखेर हेर्न नहुने बताएका छन् । उनीहरुले विस्तृत शान्ति सम्झौतामा दुवै पक्षबाट घटेका घटनाका सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर टुंग्याउनुपर्ने उल्लेख भएकाले अदालतले यस घटनामा आदेश जारी गरे देश द्धन्द्धमा फर्कने सक्ने समेत बताएका छन् ।
अधिवक्ता डा. गोपाल सिवाकोटी चिन्तनले यस मुद्धालाई अदालतले नियमित काम कारबाही अन्तर्गत रहेर फैसला अगाडी बढाउनु अदालतको क्षेत्राधिकार भित्र नपर्ने जनाए । उनले यो घटना सिँधै द्धन्द्धसँग सम्बन्धित रहेकाले यो मात्रै नभएर यस्ता हजारौँ घटना चाँडो भन्दा चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्ने तर्क गरे ।

अधिवक्ता कपिलचन्द्र पोखरेलले प्रहरी अनुसन्धानमै रहेको बेला बयानहरु बनावटी अवस्थामा मिडियामा प्रचारबाजी गरेकोप्रति अदालतको ध्यानाकर्षण गराउँदै बयानका फाइलहरु म्युजिक भिडियो प्रोमो जस्तै बनाएको र यसले घटनालाई उत्तेजित पारेर देशलाई भड्कालोमा हाल्न खोजेको हो कि भन्ने प्रश्न चिह्न खडा भएको बताए । बहसमा उनले भने – ‘श्रीमान यो घटना म्युजिक भिडियोको प्रोमो हो ? चलचित्रको प्रोमो हो रु नत्र भने हामी वकिलले बयानको कपी हामी भर्खर पाउँदैछौँ । तर भगेरा टाउके अक्षरमा त अनुसन्धान बयान अदालतमै नआई छापिसके, बजिसके त श्रीमान रु कस्तो हो श्रीमान यो अनुसन्धान प्रक्रिया ?’

त्यस्तै, अधिवक्ता केदार गुरागाइँले अभियुक्तहरु राजनीतिक प्राणी भएकाले उनीहरुलाई थुनामा राखिरहनु पर्ने कुनै आधार र कारण नै नभएको जनाए ।
बहसमा सहभागी वकिलहरुले घटनालाई अनुसन्धानकै क्रमदेखि प्रचारबाजी, मिडियाबाजी गरेको, प्रहरी तथा सरकारी वकिलको बयानमा समेत नभएका कुराहरुलाई मिडियामा दिएर सनसनी मच्चाएको तथा राजनीतिक उद्देश्यले द्धन्द्धमा घटेको घटनालाई बृहत शान्ति सम्झौता विपरित नियमित अदालती प्रक्रियाबाट हेर्न खोजेकोप्रति असहमति जाहेर गरेका छन् ।
यसैबीच, जिल्ला अदालत दैलेखमा हिजो लम्बिएको बहस आज पनि सुरु हुँदैछ ।

हिजोको बहसमा पक्षबाट अधिवक्ता कृष्ण बहादुर हमाल, सुरेन्द्र अधिकारी, ललित बहादुर मल्ल, वसन्त गौतम तथा जिल्ला सरकारी न्यायाधिवक्ता डम्बर बहादुर काफ्लेले बहस गरेका छन् भने विपक्षी तर्फबाट डा. गोपाल सिवाकोटी चिन्तन, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल र केदार गुरागाईले बहस गरेकोमा सिवाकोटीको बहस नसकिले आज पनि हुनेछ ।
सिवाकोटीको साथमा विपक्षीबाट एक जनाले थप बहस गर्नेछन् ।

बसहका क्रममा पक्षका अधिवक्ताहरुले गैरन्यायिक हत्या भएकाले सर्वस्वसहित कैदको माग गरेका छन् भने विपक्षमा बोल्नेहरुले यो मुद्धा विस्तृत शान्ति सम्झौता विपरित रहेकाले अदालतको क्षेत्राधिकार भित्रै नपर्ने भन्दै अदालतले यस विषयमा आदेश जारी गर्न समेत नहुने बताएका छन् ।

अभियुक्तहरु ९ जनामध्ये ४ जना फरार छन् भने ५ जनालाई बुधबार दैलेख जिल्ला अदालतमा सरकारी वकिलले बयान लिएका थिए ।

यसरी बयान दिनेहरुमा लक्षीराम घर्तीमगर, वीर बहादुर के.सी, हरिलाल पुनः, जय बहादुर शाही र निरक बहादुर घर्ती रहेका छन् । अन्य ४ जना अभियुक्त भने पक्राउ परेका छैनन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।