माघ १९ – शान्ति सुरक्षाका कारण देखाउँदै दैलेखबाट सुर्खेतमा पुगेर बसेका दैलेखी २२ पत्रकारले होटलमा गरेको खर्च कसले तिर्ने भन्ने विषयमा विवाद सिर्जना भएको छ ।
केही दिन अगाडी सुरक्षाको कारण देखाउँदै दैलेखका २२ पत्रकार सुर्खेतमा गएर बसेका थिए । उनीहरु त्यहाँ सुर्खेतकै सबैभन्दा महंगो होटलमा गएर बसेका थिए ।
अहिले पत्रकार महासंघको एक टोली लगायतले उनीहरुलाई दैलेख फर्काईसकेको भएपनि उनीहरुले होटलमा बसेको खर्च कसले तिरिदिने भन्ने विषयमा विवाद उत्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघमा यस विषयमा विवाद रहेको छ । एक थरी सदस्यले महासंघले उक्त खर्च तिर्नुपर्ने बताएका छन् भने अर्को पक्षले तिर्न नहुने भन्ने छ । होटलका बिल कति उठ्यो भन्ने भने आईनसकेको बताइएको छ ।
कसरी फर्किए त उनीहरु :
दैलेखमा पत्रकारिता गर्दै आएका उनीहरु लगभग हप्तादिन जिल्ला छाडेर सुर्खेत गएका थिए । उनीहरु त्यहाँ जानुको उद्देश्य भने एकीकृत नेकपा माओवादीबाट धम्की आएको भन्ने थियो ।
पछि माओवादीका नेताहरु साथै प्रधानमन्त्री तथा गृहमन्त्री समेतले जिल्लामा केही नहुने भनेर फर्कन आह्वान गरेपछि उनीहरु जिल्ला फर्किएका हुन् ।
उनीहरु जिल्ला फर्कने क्रममा महासंघका पदाधिरकारीका साथै सुरक्षा निकायका अधिकारीहरु समेत सँगै आएका थिए ।
तर, जिल्लामा फर्किएपछि महासंघका अध्यक्ष शिव गाउँले लगायतले कसले धम्की दिएको भनेर सोध्दा जिल्लाका कसैले पनि धम्की नदिएको तर सुर्खेत माओवादीबाट भने धम्की आएको बताएका थिए ।
सो क्रममा सुर्खेतबाट धम्की आउने अनि सुर्खेतमै गएर चाँही किन बसेको भनेर गाउँले प्रश्न समेत गरेका थिए ।
यसैबीच, सुर्खेत फर्कने क्रममा पत्रकारहरुमा समेत विवाद उत्पन्न भएको थियो । सो क्रममा एमाले समर्थक पत्रकारहरुले भने जिल्ला फर्कनु पर्ने अडान लिएका थिए भने कांग्रेस सम्बद्ध पत्रकारहरुले भने फर्कन नहुनेमा जोड दिएका थिए ।
सो क्रममा पत्रकार महासंघले जिल्ला नफर्कने हो भने महासंघको सदस्यता खारेज गरिदिने बताएपछि भने कांग्रेस सम्बद्ध पत्रकारहरु पनि फर्कनेमा पुगेका थिए ।
एक स्रोतका अनुसार कांग्रेस सम्बद्ध पत्रकारहरुलाई फ्रीडम फोरमका अध्यक्ष तारानाथ दाहालले दैलेख नफर्कन भनेपछि उनीहरुले त्यस्तो अडान कसेका थिए ।
दाहालले सुर्खेतबाट काठमाडौँ आएर आन्दोलन चर्काउन भनेको स्रोतको दाबी छ । सो क्रममा लाग्ने भाडा तथा बस्न खानाको व्यवस्था स्वयं आफूले तिरिदिने समेत आश्वासन दाहालले देखाएका थिए ।
त्यस्तै, दाहालका साथमा कनकमणी दिक्षित लगायतले पनि अझै आन्दोलन चर्काउन भनेको स्रोतको दाबी छ ।
यद्यपी, केन्द्रबाट पत्रकार महासंघको टोली आएर पत्रकारिताको नाममा राजनीति गरे सदस्यता खारेज समेत हुन सक्ने जनाएपछि भने ती पत्रकार दैलेख फर्किएका हुन् ।