माघ १८ – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियुक्तका विषयमा दैलेख जिल्ला अदालतमा आजबाट बहस सुरु भएको छ ।
आज सबैको बहस नसकिएपछि बहस पुनः भोलि पनि हुने भएको छ ।
आजको बहसमा पक्षबाट अधिवक्ता कृष्ण बहादुर हमाल, सुरेन्द्र अधिकारी, ललित बहादुर मल्ल, वसन्त गौतम तथा जिल्ला सरकारी न्यायाधिवक्ता डम्बर बहादुर काफ्लेले बहस गरेका छन् भने विपक्षी तर्फबाट ल क्याम्पसका प्रो. डा. गोपाल सिवाकोटी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल र केदार गुरागाईले बहस गरेकोमा सिवाकोटीको आजको बहस नसकिएपछि भोलि पनि जारी रहने छ । त्यस्तै सरकारी पक्षबाट पनि २ जनाले अझै बहस गर्ने बताइएको छ ।
बसहका क्रममा पक्षका अधिवक्ताहरुले गैरन्यायिक हत्या भएकाले सर्वस्वसहितको कारबाहीको माग गरेका छन् भने विपक्षमा बोल्नेहरुले यो मुद्धा विस्तृत शान्ति सम्झौता विपरित रहेकाले अदालतको क्षेत्राधिकार भित्रै नपर्ने भन्दै अदालतले यस विषयमा आदेश जारी गर्न समेत नहुने बताएका छन् ।
अभियुक्तहरु ९ जनामध्ये ४ जना फरार छन् भने ५ जनालाई हिजो दैलेख जिल्ला अदालतमा सरकारी वकिलले बयान लिएका थिए ।
सो बयानका क्रममा उनीहरुले केही आफूहरु घटनामा संलग्न नरहेको बताएका छन् भने केहीले पार्टीको माथिबाट आएको आदेशको भरमा उनी सुराकी भएकाले हत्या गरेको बयान दिएका छन् । बयानका क्रममा उनीहरुले जिउँदै गाडेको कुरालाई भने अस्वीकार गरेका छन् ।
यसरी बयान दिनेहरुमा लक्षीराम घर्तीमगर, वीर बहादुर के.सी, हरिलाल पुनः, जय बहादुर शाही र निरक बहादुर घर्ती रहेका छन् । अन्य ४ जना अभियुक्त भने पक्राउ परेका छैनन् ।