मङ्सिर १६ – नेपाली राजनीतिका आर्दश नेता भीमबहादुर तामाङको आज बिहान निधन भएको छ ।

सदाझैँ बिहान घुमेर फर्कनुभएका तामाङको कोठामा आउनासाथ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । एक्कासी स्वासप्रश्वास बढेपछि तामाङलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो ।

विसं १९९० मा दोलखाको जफेमा जन्मनु भएका तामाङ २००६ सालमा नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गर्नु भएको थियो । लामो समयसम्म प्रवास, जेल जीवन र पार्टीका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँ नेपाली राजनीतिमा आर्दश र निष्ठाको राजनीति गर्ने नेताको रुपमा परिचित हुनुहुन्छ ।

नेपाली काँग्रेसको बाह्रौँ महाधिवेसनमा सभापतिका उमेद्वार रहनुभएका तामाङले त्यसअघि कानुन तथा संसदीय व्यवस्था मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

आजीवन पार्टीका लागि त्याग गर्नुभएका तामाङ जति समय नेपाली राजनीतिमा सक्रिय रहनुभयो त्यो अवधिभर भौतिक सुख सुविधासमेत लिनुभएन ।

तामाङको निधनसँगै मुलुकले सिद्धान्तको राजनीतिक गर्ने असल नेता गुमाएको छ । तामाङलाई अस्पताल पु¥याएलगत्तै नेपाली काँग्रेसका सभापति, उपसभापति, वरिष्ठ नेतालगायतका नेता, कार्यकर्ता अस्पताल पुग्नुभएको थियो ।

तामाङको शव आज अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । अहिलेको राजनीतिक सत्ताको वरिपरि घुमिरहेको बेला आदर्शवान तामाङबाट नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले पाठ सिक्नुपर्ने हुन्छ ।

उहाँले जीवनभर एउटा सामान्य झोला बोकेर सादा जीवन उच्च विचार बोक्ने नेताका रुपमा आफूलाई प्रस्तुत गर्न सफल हुनुभएको थियो ।

यसैबीच उनकोे पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुर लगिएको छ ।

तामाङको पार्थिव शरीरमा पार्टी सभापति सुशील कोइरालाले पार्टीको चारतारे झण्डा ओढाउनुभएको थियो ।

त्यसैगरी, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमानसिंह, केन्द्रीय नेता एवम् कार्यकर्ता तथा आफन्तले श्रद्धाञ्जलि दिनुभएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।