Sunday, September 13, 2026
27.1 C
Kathmandu
Home समाचार काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने, क-कसले पाउँछन् याे सुविधा...

काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने, क-कसले पाउँछन् याे सुविधा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ ।

विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ ।

निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)बीच एक सम्झौता भएको छ ।

साथै उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ।

जसमध्ये ‘जलन उपचार कोष’मा १ करोड रुपैयाँ रहनेछ । उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी २ लाख रुपैयाँसम्म खर्च ब्यहोरिनेछ । सोही कोषमा जम्मा गरिएको रकम, यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ ।

कार्यक्रममा महानगरपालिका कार्यबाहक प्रमुख सुनिता डंगोलले कसैलाई पैसाको अभावमा जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताइन् । ‘बल्ल बल्ल अस्पताल पुर्‍याएपछि बिरामी छोडेर पैसाको खोज्न जानु नपरोस्, यसका लागि कोषको व्यवस्था गरेका हौँ’ उनले भनिन् ।

क-कसले कसरी पाउँछन् याे सुविधा ?
महानगरका अनुसार याे सुविधा तीन वर्गले पाउँछन् ।
​अति विपन्न नागरिक: आर्थिक अवस्था कमजोर भई जलनको उपचार खर्च धान्न नसक्ने बिरामीहरू।
​हिंसापीडित: तेजाब (एसिड) वा आगजनी लगायतका हिंसात्मक घटनाबाट पीडित बनेका व्यक्तिहरू।
​बेवारिसे बिरामी: अभिभावक वा संरक्षक नभएका र अलपत्र अवस्थामा फेला परेका जलनका बिरामीहरू।

कसरी पाइन्छ याे सुविधा
याे सुविधा प्राप्त गर्न बिरामी अति विपन्न रहेको प्रमाणित गर्न सम्बन्धित वडा कार्यालयको आर्थिक अवस्था खुलेको सिफारिसपत्र चाहिन्छ। त्यस्तै, काठमाडौं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसका आधारमा अस्पतालले सोझै कोषबाट उपचार रकम समायोजन गर्ने जनाइएकाे छ ।

बिरामीले अस्पतालको भिआइपी क्याबिन, विशेष शुल्क लाग्ने सेवा वा सौन्दर्य (कोसमेतिक) उपचार रोजेमा भने त्यसकाे अलग्गै पैसा तिर्नेछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।