काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन आज आयोवित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सवारीसाधनमा २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर छन् ।

सवारीसाधन हस्तान्तरण गर्दै एसएसपी काफ्लेले आफ्नो सवारीसाधनको सुरक्षामा विशेष ध्यान दिन सवारीधनीलाई आग्रह गर्नुभयो । उहाँले ह्विल लक, डिस्क लक तथा जीपीएस प्रणालीजस्ता सुरक्षा उपकरण प्रयोग गर्न सुझाव दिनुभयो ।

सवारीसाधन चोरी वा हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन आग्रह गर्दै वरिष्ठ उपरीक्षक काफलेले भन्नुभयो, “सवारीसाधन चोरी भए वा हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउनुहोस् ।”

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले सवारीसाधन सुरक्षाका लागि प्राविधिक निगरानीसहितको सुरक्षित स्मार्ट पार्किङ व्यवस्थापन पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सवारीसाधन चोरीबाट जोगाउन भौतिक तथा डिजिटल दुवै प्रकारका सुरक्षा प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म १६६ वटा हराएका तथा चोरी भएका दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको जनाएको छ । फेला परेको सवारीसाधन बुझ्दै धनीले ट्राफिक प्रहरी कार्यालयले गुमेको सम्पत्ति र खुसी दुवै फिर्ता गराएको प्रतिक्रिया दिनुभयो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।