काठमाडौं । नेपालमा पछिल्ला दिनमा आईभिएफको नाममा चर्को शुल्क उठाएर चरम ठगी हुने गरेको पाइएको छ । स्पष्ट कानुन अभावका कारण आईभिएफका लागि मनपरी शुल्क उठाउने गरिएको छ ।
आईभिएफ भनेको आधुनिक प्रविधिबाट बच्चा गर्भमै प्राकृतिक रूपमा नभएर चिकित्सकको निगरानीमा शरीर बाहिर प्रयोगशालामा अण्डा र शुक्राणु मिलाएर भ्रूण बनाउने र सो भ्रूणलाई पुनः महिलाको गर्भाशयभित्र राखेर सन्तान उत्पादन गर्ने प्रक्रिया हो ।
बाँझोपनाको समस्या भोगेकाहरुले यो प्रविधिमार्फत सन्तान जन्माउने गरेपनि चर्को र मनलाग्दी शुल्कका कारण सेवाग्राही मारमा पर्ने गरेका हुन् । आईभिएफको शुल्क सम्बन्धी कानुनी प्रावधान नहुँदा पनि मनपरी शुल्क लिने गरेको पाइएको छ ।
विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको काठमाडौंको बात्सल्य क्लिनिकमा यो आईभिएफ गरेका एक सेवाग्राहीले आफूले ३ लाखको हाराहारीमा शुल्क बुझाएको बताए ।
तर, अर्का एक सेवाग्राहीको पीडा भने दुःखपूर्ण छ । उनले तीन पटकसम्म आईभिएफमार्फत सन्तान उत्पादनको प्रक्रिया गर्दा पनि सफल हुन सकेन ।
त्यसका लागि औषधीउपचार, डाक्टर तथा क्लिनिकल शुल्कबापत उनले १५ लाख सिध्याएको बताउँछिन् । उनी अहिले न सन्तान भयो न त पैसा नै बाँकी रह्यो भन्दै थप पीडामा परेकी छिन् ।
यसरी पटक पटक आईभिएफमार्फत चर्को शुल्क तिरेर सन्तान उत्पादन गर्दा पनि सफल नभएर सन्तानको आशमा घरखेत बेच्नेहरु पनि धेरै रहेको पाइएको छ ।
यस्ता क्लिनिकहरुले आकर्षक विज्ञापन र नारा दिएर प्रभावित पार्ने गरेको पाइएको छ । काठमाडौंसहित देशका विभिन्न ७ वटा प्रमुख शहरलाई केन्द्र बनाएको बात्सल्य क्लिनिकले १५ हजार भन्दा बढी केस सफल भएको भन्दै प्रचार गर्ने गरेको छ ।
उसले गर्ने प्रचारमा ओपिडी निःशुल्क समेत भनिएको छ । तर, विविध क्लिनिकसहितको खर्च भने सामान्य व्यक्तिको पहुँच बाहिर हुने गरेको छ ।
सेवाग्राहीहरुले आईभिएफको लागि सरकारले शुल्क तोक्नुपर्ने र नियमित अनुगमन गर्नुपर्ने माग राखेका छन् । सरकारले अनुगमन गर्ने गरेपनि आर्थिक लाभका कारण प्रभावकारी हुन नसकेको आरोप पनि रहने गरेको छ ।








