गरिमा बैंकका कारण जसले आफ्नै ज्यानमा पेट्रोल खन्याएर आत्मदाह रोजे…

काठमाडौं । घटना केही पुरानाे हाे– जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रागणमा नथुनी मुखिया बिन आफ्नो शरीरमा पेट्रोल हाल्छन् र आत्महत्याको बाटो रोज्न खोज्छन् ।

प्रहरी कार्यालय परिसरमा भएको यस्तो प्रयास कुनै अन्य विषयको भने थिएन- गरिमा विकास बैंकले आफूलाई ठगेको आरोपमा उनले ज्यान नै फाल्नेसम्मको प्रयास गरेका थिए ।

प्रहरी तथा अन्य व्यक्तिले रोकेपछि उनको ज्यान भने जाेगियाे । तर, बैंकहरुले ऋणीलाई दिएको दुःखको एउटा सबैभन्दा दुःखद र खतरनाक स्थितिको परकाष्ठा भने यो घटना हो ।

गरिमा विकास बैंक क वर्गको राष्ट्रियस्तरको बैंकमा स्तरोन्नतीको विषय बाहिरिएपछि नथुनी मुखिया बिनको यो घटना पनि पुनः एक पटक सतहमा आएको हो ।

मुखिया बिनले आफूलाई गरिमा विकास बैंकले ठगेर सबै जग्गा जमिन लिलामी गरेको बताउँदै आएका छन् ।

यस्ता घटना नियामकहरूकाे मिलेमतोमा ढाकछोप हुने गरेको छ भने पीडितहरु थप पीडित हुनु पर्ने गरेको छ । नियामक निकाय राष्ट्र बैंक, प्रहरी प्रशासन आदिले पनि यस्ता विषयमा थप चासो दिनुपर्ने भने अवस्था छ ।

के थियो घटना ?
गरिमा विकास बैंकले प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएपछि यो घटना बाहिरिएको थियो । गरिमा विकास बैंकका कर्मचारीले ५ करोड ऋण दिन्छु भन्दै आफूलाई डेढ करोड रुपैयाँमा बैंकले लिलाम सकार गराएको उनी बताउँछन् ।

प्रहरीले भने दुई पक्षीयबीच छलफल गराउन खोज्दा केही व्यक्तिले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताएको छ । पीडित भने प्रहरीको समेत मिलेमतोमा आफूहरु अन्यायमा परेको बताउने गरेका छन् ।

आखिर बैंकले नियम कानुन अनुसार अघि बढ्नुपर्नेमा उल्टै प्रहरी कार्यालयमा किन पुग्यो भन्ने प्रश्न पनि उठेको छ ।

उनी मात्र छैनन् एक्ला पीडित
विगत ४ वर्षदेखि न्यायको लागि आफूहरु संघर्षरत रहेको भन्दै बैंकबाट ठगिएको बताउने अर्का पीडित फेकन राय पनि छन् ।
आफूसहित दर्जनौं पीडित गरिमा विकास बैंकबाट ठगिएपछि प्रहरीमा पटक पटक उजुरी गरेपनि न्याय नपाएको उनको भनाई छ ।
३० लाख रुपैयाँ ऋण रकम स्वीकृत भएपनि आफूले मात्र १ लाख ५० हजार रुपैयाँ पाएको र बाँकी रकम बैंकका प्रबन्धकले गोलमाल गरेको उनको आरोप छ । सर्लाहीकै दिनेश राय पनि आफू पनि ठगिमा परेको बताउँछन् ।

राष्ट्र बैंकको कारबाही
गरिमा विकास बैंक यसअघि राष्ट्र बैंकको कारबाहीमा समेत परिसकेको छ । कालोसुचीमा रहेका ऋणीलाई कर्जा दिएपछि राष्ट्र बैंकले गरिमा विकास बैंकलाई कारबाही गरेको थियो । तर, यस्ता घटनामा भने राष्ट्र बैंकको ध्यान पुग्न सकेको छैन ।

राष्ट्र बैंकले सुपरिबेक्षण गरेको प्रभु बैंकमा हालै मात्र सिआईबी प्रवेश गरेको छ । बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंकमाथि पनि बेला बखत प्रश्न उठ्ने गरेको छ । कर्णाली विकास बैंकको कर्जा वितरणमा भएको गडबढीमा राष्ट्र बैंकका अधिकारी समेत मुछिएका थिए ।

याे पनि पढ्नुहाेस्

वाणिज्य बैंक बन्न खोजेको गरिमा बैंकः एनपिएल उच्च जोखिममा, वितरणयोग्य नाफा ६१ प्रतिशतले ओरालो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।