Monday, July 27, 2026
Home अर्थ खबर वाणिज्य बैंक बन्न खोजेको गरिमा बैंकः एनपिएल उच्च जोखिममा, वितरणयोग्य नाफा ६१...

वाणिज्य बैंक बन्न खोजेको गरिमा बैंकः एनपिएल उच्च जोखिममा, वितरणयोग्य नाफा ६१ प्रतिशतले ओरालो

बैंकका सिइओ माधव प्रसाद उपाध्याय र बैंकको लोगो ।

काठमाडौं । क वर्गको वाणिज्य बैंकमा स्तरोन्नती प्रक्रिया अघि बढाएको गरिमा विकास बैंक जोखिमपूर्ण आर्थिक अवस्थामा गुज्रिरहेको पाइएको छ । बैंकको पछिल्लो विवरण अनुसार वितरणयोग्य नाफामा समेत ६१ प्रतिशतले ओरालो लागेको छ ।

गरिमा विकास बैंकको नन् पर्फमिङ लोन (एनपिएल) अर्थात खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार ४.७३ प्रतिशत पुगेको छ । यो राष्ट्र बैंकले ताेकेकाे सिमा भन्दा माथि हो । ५ प्रतिशतमाथि एनपिएल पुगेमा बैंकहरु राष्ट्र बैंकको कडा निगरानीमा पर्ने गर्छन् भने राष्ट्र बैंककाे निर्देशनकाे परिपालना गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको कडा निर्देशन र निगरानीको अवस्थामा पुगेको गरिमा बैंकले यहीँ बेला क वर्गको वाणिज्य बैंकमा स्तरोन्नतीको प्रक्रिया अघि बढाएको हो । सुचांकहरु केलाउने हो भने गरिमा विकास बैंक स्तरोन्नती हुने अवस्थामा छैन ।

नियामक निकाय राष्ट्र बैंकले यस विषयमा छानबिन गर्ने भएकाले यो प्रक्रिया जारी छ ।

वितरणयोग्य नाफामा ठूलो गिरावट
गरिमा विकास बैंकमा आर्थिक सुचांकहरू झनै खस्किदै गएको पाइन्छ । बैंकको वितरणयोग्य नाफामा ठूलो गिरावट आएको छ । अघिल्लो वर्षमा तुलनामा ६० प्रतिशत बढीले विरणयोग्य नाफा घटेको छ । अघिल्लो वर्षको अवधीमा ८.६ करोड वितरणयोग्य नाफा रहेकोमा यो वर्षको त्रैमासिक अवधीमा बैंकको वितरणयोग्य नाफा ३.३ करोडमा मात्र खुम्चिएको छ ।

आगामी दिनमा बैंकको एनपिएल बढ्दै जाँदा प्रोभिजनमा ठूलो खर्च गर्नुपर्ने र सञ्चालन खर्च बढ्दै जाँदा लाभांश क्षमतामा ठूलो असर पर्ने देखिएको छ । बैंकको गत वर्षदेखि नै कागजी घाटाहरुको ठूलो फेरिस्त बन्न थालेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात नियामक सिमाभित्र रहेपनि घट्दो रहेको पाइएको छ

यसैगरी, बैंकको क्यास तथा क्यास इक्युभ्यालेन्टमा पनि कमी आएको छ । यसले बैंकको तरलतामा क्रमिक दबाब थपेको छ ।

अर्कातर्फ, लगानीतर्फ बढी नगद बाहिरिएको छ । सरकारी तथा अन्य लगानी बढ्दा छोटो अवधिको तरलता जोखिम बढ्ने खतरा पनि देखिएको छ । विगतको तुलनामा कर्जा–निक्षेपको अनुपात पनि घट्दो रहेको पाइएको छ ।

हेलोखबरले बैंकका सुचना अधिकारी अनिल रेग्मीसमक्ष प्रतिक्रिया लिने प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।