काठमाडाैं । कास्की जिल्लामा सार्वजनिक विद्यालयको नाममा रहेको जग्गा गैर–कानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले राष्ट्रिय भूमि आयोग तत्कालिन अध्यक्षसहित पदाधिकारी, मालपोत कार्यालयका अधिकारी तथा अन्य संलग्न व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।
अख्तियारका अनुसार पोखरा महानगरपालिका–२६ मा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको सार्वजनिक परिसरभित्र पर्ने कित्ता नम्बर ६२५ को ३ रोपनी ३ आना जग्गा गैर–सुकुम्बासी व्यक्तिलाई सुकुम्बासी देखाई दर्ता गरिएको पाइएको छ। पदको दुरुपयोग गरी गैरकानुनी लाभ दिलाउने उद्देश्यले निर्णय गरिएको आयोगको निष्कर्ष छ।
मुद्दामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, सदस्यहरू तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसहित आशबहादुर गुरुङ, उमा कुमारी थापा, सोमबहादुर नेपाली र लाभग्राही भिमबहादुर बी.के.लाई प्रतिवादी बनाइएको छ। अख्तियारले १ करोड ४० लाख बिगो दाबी माग गरेको छ ।
अनुसन्धानका क्रममा लाभग्राही भिमबहादुर बी.के. सुकुम्बासीको कानुनी परिभाषाभित्र नपर्ने व्यक्ति भएको, उनको परिवारको नाममा यसअघि नै जग्गा दर्ता रहेको तथ्य भेटिएको अख्तियारले जनाएको छ। झुटा विवरणका आधारमा सुकुम्बासी प्रमाणित गरिएको र अपुरो निर्णय कार्यान्वयनको बहाना बनाउँदै गैरकानुनी कागजातका आधारमा दर्ता श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपत्र समेत जारी गरिएको पाइएको आयोगको दाबी छ।







