ओली सरकारका मन्त्री गुप्ता- यी चार कारण पुगे थुनामा

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पालाका मन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । लिचिबारी भ्रष्टाचार प्रकरणमा नेकपा एमालेका नेतासमेत रहेका गुप्तालाई थुनामा पठाउन आदेश दिइएको हो ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो ।

प्रतिवादीहरूबिच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन, प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रञ्जिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई आधार, गरिमा विकास बैंकको स्टेटमेन्टमा पैसा हालेको र झिकिएको विवरण लगायतलाई प्रमाणलाई आधार मान्दै अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।