काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।
नेपाल आयल निगमको बबरमहलस्थित कर्पोरेट कार्यालय निर्माणका क्रममा अगाडी नै मूल्यांकन भईसकेको अवस्थामा साजसज्जा लगायतको नाममा पुनः भेरिएशन गराएर करिब ५० लाख हिनामिना गरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी परेको हो ।
भवन पूर्ण सुसज्जित (Full Furnished Building Tender) अन्तर्गत टेण्डर गरिए पनि व्यक्तिगत लाभको मनसाय राखेर पहिल्यै टेण्डरमा नै भएको वस्तुलाई फेरि थप गरे जस्तै गराएर पुनः भेरिएशन गरेर ठूलो रकम हिनामिना भएको बताइएको छ ।
भट्टले उक्त अनुसन्धान तामेलीमा राख्न पनि शक्ति केन्द्र धाउनेदेखि लिएर ठूलो आर्थिक चलखेल समेत गर्दै आएको बताइन्छ ।
भट्टलाई कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नियुक्त गरेको चर्चा चल्ने गरेको थियो । उनले ठूलो धनराशी खर्च गरेर नियुक्त भएको भनेर कांग्रेसभित्रै चर्चा चल्ने गरेको थियाे । उनी २०८० साल फागुनमा आयल निगम प्रवेश गरेका थिए । उनी कार्यकारी प्रमुखमा नियुक्त हुँदा उद्योग मन्त्री कांग्रेसका रमेश रिजाल रहेका थिए ।
१० वर्षअघि पनि निगमको नेतृत्वमा रहेका उनलाई तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ माघमा हटाएका थिए । उनी त्यतिबेला ६ महिना मात्र आयल निगममा बसेका थिए ।
निगमका सुचना अधिकारी सुदन प्रसाद ढुंगानाले परियोजनाका कार्यहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा निगमको आर्थिक प्रशासन तथा खरिद सम्बन्धी विनियमावली, २०६४ (दोस्रो) संशोधनसहित) मा उल्लेखित व्यवस्था अनुसार सम्पन्न भएको दाबी गरेका छन् ।








