भारतले नेपाललाई दिएकाेे खाेपलाई यस कारण गरिन्छ शंका

संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।

नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ। आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ। भारतीय खोपका बारेमा हामीलाई थाहा भएका कुरा के-के हुन् त?

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

कोभिशील्डले कसरी काम गर्छ?

अक्सफर्ड-आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो। यसले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ। कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ। सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन। खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्छन्।

एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ। त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ। यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ। फाइजर-बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि चुनौतीपूर्ण छ।

कोभिशील्ड कति प्रभावकारी छ?

अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।

तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ। तर अप्रकाशित तथ्याङ्क अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ।

त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। सिरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क अगाडि सारेर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ।

तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ। कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ। तर केही विज्ञले अन्य देशमा गरिएको परीक्षण अनुसार काम नगर्ने सम्भावना कम भएको बताउँछन्।

कोभ्याक्सिनको कुरो के हो?

कोभ्याक्सिन भारतमै विकसित खोप हो। भारत बायोटेक २४ वर्ष पुरानो खोप निर्माता हो जसले १६ प्रकारका खोप निर्माण गर्छ र १२३ देशमा निर्यात गर्छ।

यो कोरोनाभाइरसमा आधारित खोप हो जुन निष्क्रिय भएकोले शरीरमा हाल्न मिल्छ। कम्पनीले भारतको न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलोजीले एक्लाएको कोरोनाभाइरस प्रयोग गर्छ।

शरीरमा हालेपछि रोग प्रतिरोधी क्षमताले कोरोनाभाइरस चिनेर त्यस विरुद्ध सक्रिय हुन्छ। यसको दुई मात्रा चार साताको फरकमा दिइन्छ र यो पनि २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा राख्न सकिन्छ। कम्पनीले आफूसँग दुई करोड मात्रा कोभ्याक्सिन भएको बताएको छ।

किन कोभ्याक्सिनमा शङ्का?

कोभ्याक्सिनलाई परीक्षणका चरणहरू नै पूरा नभई अनुमति दिइएपछि यो विवादमा छ। विज्ञहरूले परीक्षणमै रहँदा कसरी लाखौँ व्यक्तिलाई लगाउन आपत्कालीन अनुमति दिन सकिन्छ भनेर प्रश्न उठाएका छन्। तर दुवै उत्पादक र नियामकले यसलाई सुरक्षित भएको बताएका छन्। बिबिसी नेपालीबाट