डा. बाबुराम भट्टराई/फेसबुकबाट
असोज ३ । एउटा भनाइ छ: नामर्दकी जोई, सबैकी भाउजु । अर्थात् कमज़ोर र गरीबलाई सबैले हेप्छन् । यो ब्यक्तिको हकमा पनि हो, राष्ट्रको हकमा पनि हो ।

हिजो असोज २ गते विहान ६ बजे नै सिन्धुली हिंडेको र रात्रि १० बजे मात्रै फर्केको हुनाले दुइ दिनका अखबार आज एकैचोटि पढियो । दुइवटा कुराले मनमष्तिकलाई नराम्ररी घोच्यो: एउटा, बर्दियाको एक घरमा हतियारधारी भारतीय प्रहरी जबर्जस्ती घुसेर खानतलासी गरेछ । दोश्रो, तनहुँ पुगेका जर्मन राजदूत फ्रांक माइकेले त्यहाँका जनतालाई सम्बोधन गर्दै आगामी संस निर्वाचनमा कस्तो पार्टीलाई भोट हाल्नुपर्छ र कस्तोलाई हाल्नुहुन्न भनेर लामो उपदेश दिएछन् ।

हिजो ऐतिहासिक सिन्धुलीगढीबाट फर्कदा नयाँ साथीहरुलाई गर्वकासाथ त्यहाँ कसरी बहादुर गोरखाली सेनाले अठारौं शताब्दीमा अंग्रेजहरुलाई हराएर नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गरेको थियो भनेर सुनाउँदै थिएँ, तर आज अखबारमा नेपाली सार्वभौमसत्तामाथि यस्तो नांगो अतिक्रमणको ख़बर चुपचाप पढेर र सुनेर बस्नुपरिरहेछ । आखिर थोत्रो मुख बजाएर मात्र पो के हुन्छ र?

उन्नाइसौं शताब्दीको सुगौली सन्धी पछि नेपाली शासकवर्गले जुन राष्ट्रिय आत्मसमर्पणवादी नीति लियो र देशलाई आन्तरिक रुपमा ग़रीब र कमजोर बनायो त्यसैको दुष्परिणाम आज हामी भोगिरहेछौं ।

यसबाट मुक्तिको उपाय के त ? कतिपयले बुझेर वा नबुझेर मेरो राष्ट्रियता सम्बन्धी अवधारणा र प्रतिबध्दताबारे प्रश्न उठाएको देख्दा कहिलेकाहीं मलाई निकै नमिठो अनुभुति हुन्छ । शुरुशुरुमा म पनि राष्ट्रियता सम्बन्धी विवेकसम्मत भन्दा आवेगात्मक धारणा बढ़ी राख्दथें । मेरो Ph.D शोधग्रन्थ, संयुक्त जनमोर्चा कालका मेरो नेत्रित्वमा भएका अनगिन्ति राष्ट्रियतासम्बन्धी आन्दोलन, चर्चित ४०-सूत्रीय मागपत्र आदि त्यसका दसी हुन् ।

तर विश्व र क्षेत्रीय स्तरमा भएका पछिल्ला आर्थिक, राजनीतिक र सामरिक परिवर्तनहरु र देशभित्रैका पछिल्ला युगान्तकारी राजनीतिक परिवर्तनको आलोकमा मेरो अहिलेको बुझाइ के हो भने अब हामीले आफ्नै देशभित्रको आन्तरिक राष्ट्रिय एकता मजबुत नगरी, जनतालाई अधिकारसम्पन्न नबनाई र देशलाई आर्थिक रुपले सम्व्रिध्द र सम्पन्न नगराई हामीले बाहिरी राष्ट्रियताको लडाइँ जित्न सक्दैनौं । त्यसैले हामीले सुगौली-सन्धी यताको राष्ट्रिय अपमान र उत्पीडनबाट मुक्त हुनैपर्छ तर त्यो मुक्तिको बाटो पुरानो दोश्रो विश्वयुध्दताकाको बाटो नभएर आजको एक्काइसौं शताब्दीको धारतलीय यथार्थ सुहाउँदो नयाँ बाटो हुनुपर्दछ । त्यसैलाई हामीले प्रगतिशील राष्ट्रवाद भनेका हौं र हाम्रो पार्टीको हेटौंडा महधिवेसनले अनुमोदित गरेको बाटो त्यही हो ।

त्यसैले आउनोस्, देशलाई एकताबध्द, सम्पन्न र बलियो बनाएर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गरौं ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।