सशस्त्र भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले भारतको छत्तीसगढ राज्यको वस्तर क्षेत्रको जिरम उपत्यकामा ११ जेठमा भीषण आक्रमण गर्‍यो । भारतीय राजनीतिलाई समेत तरंगित गरेको उक्त घटनामा भारतीय कांग्रेस आईका छत्तीसगढका प्रदेश अध्यक्ष नन्दकुमार पटेल, प्रदेशका पूर्वगृहमन्त्री महेन्द्रसिंह कर्मा, राज्यका पूर्वसांसद, विधायकलगायत २८ जना मारिए ।

छत्तीसगढ घटनालगत्तै भारतीय संस्थापन पक्षलाई सहानुभूति दिन अन्तर्राष्ट्रिय जगत्बाट प्रायःले समवेदना पत्र पठाए। तीमध्ये एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गरेर पठाइएको समवेदना पत्रलाई अर्थपूर्ण मानिएको छ। प्रचण्डले छत्तीसगढ घटनाबाट आफू र आफ्नो पार्टी दुःखी र मर्माहत भएको बताएका छन्। ‘यस हिंसात्मक आक्रमणको घटनाप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,’ १४ जेठमा प्रेषित पत्रमा उनले लेखेका छन्, ‘कुनै पनि समस्याको समाधान शान्तिपूर्ण तरकिाले निकालिनुपर्छ भन्नेमा हामी विश्वास गर्छौं र यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो।’ कांग्रेस आई अध्यक्ष गान्धीले छत्तीसगढ घटनालाई ‘लोकतन्त्रमाथिकै हमला’ भनेर प्रतिक्रिया दिएलगत्तै प्रचण्डले गान्धीलाई उक्त पत्र पठाएका थिए ।

छिमेकमा त्यत्रो घटना हुनु र प्रचण्डले त्यसमा समवेदना पत्र पठाउनु आफैँमा ठूलो कुरा होइन। अनौठो त के भने यस घटनामा एमाओवादी अध्यक्ष प्रचण्डले हिंसाको विरोध मात्र गरेका छैनन्, त्यसको समाधान शान्तिपूर्ण विधिबाट गरिनुपर्ने उपाय पनि सुझाएका छन्। यो भाकपा माओवादीलाई दिइएको खुलेआम सन्देश पनि हो। जबकि, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी भने यसबारे मौन छ।

नेपालको १० वर्षे द्वन्द्वमा नेपालको माओवादी र भारतमा पनि राज्यविरुद्घ सशस्त्र युद्ध गररिहेका कम्युनिस्ट पार्टीहरूबीच भाइचारा सम्बन्ध मात्र थिएन, उनीहरूबीच वैचारकि एकरूपता, सैन्य सहयोग आदान-प्रदानदेखि तालिमसमेतमा सहकार्य हुँदै आएको थियो। नेपाली माओवादीले सशस्त्र विद्रोह थालेको पाँच वर्षसम्म सैन्य तालिम र हतियारको सहयोग भारतीय माओवादीहरूबाट लिँदै आएका थिए। नेपाली माओवादीहरूको लडाइँ तत्कालीन शाही नेपाली सेनासँग हुन थालेपछि भारतीय माओवादीहरू सैन्यकला सिक्न यता आउन थाले। द्वन्द्वले चरम रूप लिँदै गर्दा ०५७ सालमा सम्पन्न नेपाली माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले दक्षिण एसियाली सोभियत फेडरेसन (सी कम्पोसा)को अवधारणा अघि सार्‍यो, जुन कार्यान्वयनमा आउन झन्डै डेढ वर्ष लागेको थियो।

कम्पोसा गठन प्रक्रियामा माओवादी अध्यक्ष प्रचण्ड नै अग्रसर थिए। कम्पोसा गठन गर्नुका मुख्य दुइटा उद्देश्य थिए : पहिलो यसलाई दक्षिण एसियाली सहयोग संगठन -सार्क)को विकल्पमा क्रान्तिकारीहरूको संगठन बनाउने। दोस्रो : रणनीतिक रूपमै फौजी र राजनीतिक तालमेल मिलाउन दक्षिण एसियाली मुलुकमा ‘रेड कोरडिर’ निर्माण गर्ने। सी कम्पोसाको औपचारकि गठन भएको डेढ वर्ष नबित्दै भारतीय जनयुद्धरत दुई प्रमुख पार्टी माओइस्ट कम्युनिस्ट सेन्टर (एमसीसी) र भाकपा माले -पिपुल्स वार गु्रप)बीच एकता भयो र उनीहरूले नयाँ नाम राखे, भाकपा माओवादी। प्रचण्डले विभिन्न सञ्चारमाध्यमको अन्तर्वार्तामा भारतीय कम्युनिस्ट पार्टीलाई मिलाउने काम आफूले गरेको दाबी गरेका छन्।

१० वर्षे द्वन्द्वका क्रममा नेकपा माओवादीले अन्य दलका नेता तथा कार्यकर्तालाई पटक-पटक निसाना बनाउँदै आएको थियो। भारतीय जनयुद्धरत पार्टीको एकतापछि उनीहरूले पनि नेपाली माओवादीकै सिको गर्दै राजनीतिक नेतामाथि पनि आक्रमण गर्न थाले। नेपालका माओवादीहरू शान्ति वार्ता हुँदै सत्तामा गएपछि भारतीय माओवादीले त्यहाँ ठूल्ठूला कारबाही गरेका थिए। यद्यपि, त्यसबारे नेपालका माओवादीले सकारात्मक-नकारात्मक कुनै पनि वक्तव्य दिएन। यतिसम्म कि, पछिल्लो पाँच वर्षयता भाकपा माओवादीका प्रवक्ता आजाद, पोलिटब्युरो सदस्य किसनजीलगायत अन्य कमान्डर मारिदासम्म प्रचण्डले कुनै वक्तव्य दिएनन्। नेपालको द्वन्द्वका क्रममा भएका विभिन्न सैन्य अप्रेसनमा भारतीय माओवादीले भाइचारा पार्टीका तर्फबाट विरोध वक्तव्य दिएका थिए। तर, प्रचण्ड त्यहाँको अप्रेसन ‘गि्रन हल्ट’बारे मौन नै रहे।

१२ बुँदे सहमतिमार्फत नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि उसको भाकपा माओवादीसँग सम्बन्ध बिस्तारै चिसिँदै गएको थियो। यद्यपि, नेपालमा शान्तिवार्ता चलिरहेकै बेला कम्पोसाको अन्तिम बैठक काठमाडौँमा चल्यो, जुन बिनानिष्कर्ष टुंगियो। त्यसपछि टाढिँदै गएको भाइचारा सम्बन्ध गत माघमा एकीकृत माओवादीको हेटौँडामा सम्पन्न सातौँ महाधिवेशनपछि त विधिवत् रूपमै सिद्धिएको आभास भयो। त्यो यस मानेमा कि, हेटौंडा महाधिवेशनले औपचारकि रूपमै पुँजीवादी क्रान्तिको बाटो अवलम्बन मात्र गरेन, भारतीय संस्थापन पक्षलाई हेर्ने दृष्टिकोणमा पनि व्यापक परविर्तन गर्‍यो। कुनै बेला भारतको कट्टर विरोधी ठानिएका र पटक-पटक भारतविरुद्ध सुरुङ युद्धदेखि राष्ट्रिय स्वाधीनताको लडाइँ गर्ने वक्तव्य दिएका प्रचण्डले खुलेआम भारतसँग प्रगतिशील राष्ट्रवाद अँगाल्ने घोषणा गरे। हेटौंडा महाधिवेशनबाट राजनीतिक कार्यदिशा परविर्तन गर्नु, त्यसको तीन महिनापछि भारतको भ्रमण गर्नु अनि भारतीय माओवादीको आक्रमणबारे त्यहाँको संस्थापन पक्षसँग दुःख मनाउ गर्दै समवेदना पत्र दिनु, यी सबै सिलसिलेवार घटना के संयोग मात्र थिए ?
(नेपाल साप्ताहिकबाट)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।