काठमाडौं ११ असोज । बुद्ध एयरका दुई वटा जहाजमा सोमबार मात्र गम्भीर प्राविधिक समस्या देखिएको छ । सेकेन्ड हेन्डमा खरिद गरिएको र वर्षौ पुरानो भएका कारण जहाजको इन्जिन तथा पाटपुर्जाले राम्ररी काम नगर्दा सोमबार मात्र झण्डै दर्जनौं नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्यो ।
काठमाडौंबाट विराटनगर उडेको 9N-ANI विमानको पांग्रा नखुलेपछि पुनः काठमाडौं फर्काएर आकाशमा १० फन्कोजति घुमाएपछि सफल अवतरण भयो । काठमाडौंबाट पोखरा उडेको अर्को 9N-AJO जहाजको ककपिटमा धुँवा देखिएको थियो । यी दुवै जहाज सोमबार ठूलो दुर्घटना हुनबाट जोगिए भने योसँगै दर्जनौं सर्वसाधरणको ज्यान पनि जोगियो ।
सोमबारकाे ठुलाे दुर्घटना टरे पनि पुनः दुर्घटना नदोहोरिएला भन्ने ठाउँ छैन । बुद्ध एयरको प्राविधिक समस्यासँगै ठूलो दुर्घटना टरेपनि किन यस्ता समस्या दोहोरिन्छन् भनेर चौतर्फी आवाज समेत उठेका छन् । जसमा सेकेन्ड हेन्डमा किनिएका जहाज पुरानो भएको कारण पाटपुर्जाले राम्ररी काम नगर्दा यस्तो समस्या उत्पन्न हुनु रहेको पाइएको छ । बुद्ध एयरको जहाजमा यस्ता समस्या पटक-पटक हुने गरेको समेत पाइएको छ ।
सोमबार पोखरा जाँदा प्राविधिक समस्या देखिएको जहाज २४ वर्ष पुरानो हो । उक्त जहाजले सन् १९९७ मा पहिलो पटक उडान भरेको थियो । फ्रान्सको एयर ताहितीले प्रयोग गरेको यो जहाज भारतको एयर डेकनले प्रयोग गरिरहेको अवस्थामा बुद्धले सन् २०१० मा किनेर नेपाल भित्र्याएपछि उडान भर्दै आएको छ । सन् २०१२ मा काठमाडौँबाट विराटनगर जानेक्रममा यो प्लेन चरासँग ठोक्किएको थियो ।
विराटनगर जाँदा गम्भीर प्राविधिक समस्या देखिएको जहाज भने १४ वर्ष पुरानो जहाज हो । भारतको किङफिसर र जेटकोनेक्टले उडाउने गरेको यो जहाज बुद्धले सकेन्ड हेन्डमा किनेर ल्याएको हो । यो जहाज पहिलो पटक सन् २००७-१२-५ मा उडेको थियो । बुद्धले २०१९-९-१४ बाट यो प्लेन नेपाल ल्याएर उडाउँदै आएको छ ।
पुराना जहाजको इन्जिनको आयू कति हुने, कति वर्षसम्म सञ्चालन गर्न दिने भन्ने विषयमा नियामक निकाय मौन रहने गरेका छन् । अनुगमन तथा परीक्षण गर्ने जस्ता विषयमा पनि सरकार चुप लागेर बसिदिँदा दुर्घटना निम्तने र अनाहकमा नागरिकले ज्याने गुमाउनुपर्ने बाध्यता समेत रहने गरेको छ ।









