क्याथफोर्ड र सान कलेजले यसरी पुर्याए प्रेमलाई आत्मदाहको बाटो

काठमाडौं । संसद भवन अगाडी शरीरमा प्रज्ववलनशिल पदार्थ खनाएर आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई ललितपुरस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज र काठमाडौंको सान इन्टरनेशनल कलेजले तनाब दिएको खुलेको छ ।

आत्मदाह प्रयास अगाडी आचार्यले लामो फेसबुकमा स्टाटस सेयर गर्दै क्याथफोर्ड र सान इन्टरनेशनल कलेजले दादागिरी शैलीमा आफ्नो भुक्तानी नदिएको खुलाएका छन् । कलेजले भुक्तानी नदिएपछि ऋणको सिलसिला सुरु भएको र जताततै लुटेरा मात्र रहेको पाइएको समेत उनले बताएका छन् ।

आचार्यको परिवारले जाहेरी दिएमा वा राज्यले अनुसन्धान सुरु गरेमा आत्मदाहको प्रोत्साहन अभियोगमा क्याथफोर्ड कलेज र सान इन्टरनेशनल कलेजका सञ्चालक पनि यो घटनामा तानिने भएका छन् ।

प्रेमले लेखेको स्टाटस अनुसार क्याथफोर्डले १ लाख ७५ हजार सानले ९० हजार भुक्तानी दिएको छैन । विद्यार्थीलाई ट्रेकिङ लगे बापतको कलेजले भुक्तानी नदिएको हो ।
‘क्याथफोडै कलेज बालकुमारीले दादागिरि शैलिमै १,७५,००० दिएन, सान इन्टरनेशनल कलेज नक्सालले ९०,००० दिएन । यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरि हाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् ।’ उनले लेखेका छन् ।

क्याथफोर्डले आफ्नो बेवसाइटमा ‘इम्प्लोयर नेटवर्क’ का रुपमा माइक्रोसफ्ट, युनिभर्सिटी ग्रान्ट्स कमिशन, एनएमबी बैंक लगायत राखेर प्रचार गरिरहेको छ । सानले आफ्नो झण्डा सगरमाथाको टुप्पोमा पुर्याउने लगायतको प्रचार गर्ने गरेको छ । तर, आफ्नै पाटीलाई पैसा नदिएर मृत्युको मुख नजिक पनि पुर्याएको यो घटनाबाट खुल्न आएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।