सांसदले घुस दिएको कुरा संसदमै उठाउँदा पनि सरकार मौन

काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा साउन ६ गते संसदमा बोल्दै आफूले पाँच हजार घुस आफूले दिन बाध्य भएको उल्लेख गरे ।

संसदमा प्रधानमन्त्रीले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताइरहँदा सांसद महताले सिटिईभिटीमा छोराको कामका लागि सहज ढंगले कर्मचारीले नगरीदिएपछि दलालीलाई पाँच हजार दिएर काम गराउन बाध्य पारेको बताएका थिए ।

पूर्वमन्त्री तथा सांसदले संसदमा नै घुस दिएको विषय उठाएको ४८ घण्टा बित्दा पनि सरकार भने मौन छ । प्रधानमन्त्री ओलीले भ्रष्टचार नगर्ने र गर्नेलाई पनि नछाड्ने रटान लगाउँदै आएपनि संसदमा नै उठेको विषयलाई पनि सामान्य जस्तै लिएको पाइएको छ ।

नेपाली कांग्रेसका सांसद राजन केसीले सांसदले नै घुस दिएको विषयमा सरकार मौन बस्न नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरे । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘संसद्मा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनु भएको विषयलाई संसद्ले नजरअन्दाज गर्न मिल्दैन । सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन ।’

उनले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताए । उनले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि त्यसो नभएको गुनासो गरे । उनले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला रु भन्दै प्रश्न गरे । उनले भने, ‘अहिले पनि घुस लिनेहरू खुला रुपमा खाइरहेका छन् । मुलुकका हरेक कार्यालयहरूमा दलालहरू छटपटीरहेका छन् ।’

अपडेटः यसैबीच, सांसदहरुले पुनः संसदमा यो विषयलाई उठाएपछि र हेलोखबरलगायतका मिडियामा समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले छानबिन समिति बनाउन बाध्य भएको छ । मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।