
काठमाडौँ २८ असोज । भाटभटेनी सुपरस्टोरका मालिक व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने विषयलाई लिएर एमालेभित्रै विवाद सुरू भएकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरिसकेका छन् । तर उक्त विषय अहिले विवादको उत्कर्षमा छ ।
एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारीबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् ।
पाण्डेले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत व्यापारीले पार्टी कार्यालय भवन बनाईदिने विषयको विरोध गरेकी हुन् । उनले ‘यो कामलाई पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ ।
व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनले बताएकी छन् । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ स्थायी कमिटी सदस्य पाण्डले भनेकी छन् ।







