राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।

दुई हजार दुई सय मिटर लामो उक्त सडक निर्माणको ठेक्का २०७९ साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले लिएको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक समयमा विस्तार र स्तरोन्नति हुन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका इञ्जिनियर किरण सुवेदीले उक्त सडक निर्माणमा हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति भएको बताए । गत वैशाख दोस्रो सातादेखि अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सुरू गरिए पनि पहिलो चरणको कालोपत्र अझै नसकिएको उनको भनाइ छ । ‘दोस्रो तहको कालोपत्र गर्न बाँकी नै छ, सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम गर्न अझै केही महिना लाग्ने देखिन्छ’, इञ्जिनियर सुवेदीले भने, ‘वर्षातका बेला भएकाले कालोपत्रको काम प्रभावित भइरहेको छ, आउँदो आर्थिक वर्षभित्रमा काम पूरा हुन्छ ।’

हरिचोकतर्फबाट सुरु भएको पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको उनको भनाइ छ । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माण प्रभावित बनेको इञ्जिनियर सुवेदीले बताए । आगामी हिउँदसम्ममा उक्त खण्डको यातायात सेवा सहज हुने उनको भनाइ छ । ‘लामो समय सडक नबन्दा स्थानीयवासी र यात्रु मर्कामा थिए, अब भने धेरै सहज भइसकेको छ’, उनले भने ।

उक्त खण्डको दुवैतर्फ चार लेनको सडक चार वर्षअघि नै बनिसकेको थियो । बीचको खण्ड जीर्ण हुँदा प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यातायात सेवा असहज बन्दै आएको छ । सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जामको समस्या र दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।