काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा ११० रुपैयाँसम्ममा चिनी किनबेच भइरहे पनि बजारमा भने १६० रुपैयाँसम्ममा खुलेखुलाम बिक्री भइरहेको पाइएको हाे ।
किराना तथा खुद्रा पसलमा चिनीको अभाव भएको भन्दै सर्वसाधरणलाई महँगोमा चिनी बिक्री भइरहेको पाइएको हो ।
बजार अनुगमनको जिम्मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा स्थानीय तहको हुने भएपनि यसमा सरकारी निकायले वास्ता समेत गरेको पाइदैन ।
साल्ट ट्रेडिङमा सस्तो तर लाइन बस्न गाह्रो
साल्ट ट्रेडिङ कर्पोरेशनले सस्तो मूल्यमा नै चिनी बिक्री गर्दै आएको छ । तर, १/२ केजी चिनीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो रहेको छ । यो लाइन कुनै प्रशासनिक झन्झटको नभए पनि उपभोक्ताको चापको लाइन हो ।
लामो समय लाइनमा बस्नुपर्ने बाध्यताका कारण खुद्रा तथा किराना पसलमा चिनी किन्दा भने उपभोक्ताले १६० रुपैयाँसम्म तिर्न बाध्य हुनु परेको हो ।
भारतमा बढेर पनि घटिसक्यो मूल्य
नेपालमा चिनी महँगो हुनुको कारण खोतल्दा भारतसम्म पुग्नुपर्ने हुन्छ । भातरमा यसअघि चिनीको मूल्य अहिलेसम्मकै उच्च तहमा पुगेको थियो । अगस्टमा भारतीय बजारमा चिनीको मूल्य दुई महिनाको अवधिमा करिब ४० प्रतिशतसम्म बढेको थियो ।
मूल्य नियन्त्रण गर्न भारत सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी शुल्करहित आयात गर्ने अनुमति दियो। सेप्टेम्बर १० सम्म करिब ८ लाख टनका लागि आवेदन परिसकेको भारतीय खाद्य मन्त्रालयले जनाएको छ ।
अहिले भने भारतमा चिनीको मूल्य नियन्त्रणमा आइसकेको छ । महाराष्ट्रको खुद्रा बजारमा अगस्टमा चिनी ७०–७५ प्रति किलोसम्म पुगेको थियो। अहिले भने घटेर ५५–५७ प्रति किलोमा झरेको छ। तर,नेपालमा भने कालोबजारीका कारण अहिले पनि मूल्य उच्च तहमा छ।
इथानोलको असर
भारतमा सरकारले इथानोलका लागि उखु प्रयोग गर्ने नीति समेत पारित गरेको छ । तर, सरकारी अधिकारीहरु भने मूल्य वृद्धि हुनुमा यसको प्रभाव नरहेको दाबी गर्दै आएका छन् ।
भारत सरकारले इथानोल उत्पादनका लागि चिनी/उखु डाइभर्ट भएर चिनी महँगिएकाे कारण सत्य नभएको बताएको छ । अधिकारीहरुका अनुसार भारत सरकारले यस सिजनको चिनी उत्पादन प्रारम्भिक अनुमान भन्दा करिब ११५ लाख टन कम भएकाे छ। त्यसैले घरेलु बजारमा उपलब्ध चिनीको मात्रा अपेक्षाभन्दा कम उत्पादन भएका कारण यसकाे असर मूल्यमा परेकाे बताइन्छ ।




