Thursday, September 10, 2026
22.1 C
Kathmandu
Home समाचार रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा

रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा

काठमाडौं । एउटा अन्तर्वार्ता, त्यसका छोटा–छोटा क्लिप र सामाजिक सञ्जालमा गरिएका पोस्ट- यही विषय अहिले अदालतसम्म पुगेको छ ।

रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्तामा बोलेका विषयलाई लिएर वेदिका केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएको हाे ।

सरकारी वकिलको अभियोगपत्रअनुसार केसीले रजतपट अनलाइन टीभीमा जाहेरवालासम्बन्धी विषयमा अन्तर्वार्ता दिएकी थिइन्। त्यसपछि सोही अन्तर्वार्ताका विभिन्न छाेटा क्लिप बनाएर टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट तथा सार्वजनिक गरेको आरोप उनीमाथि लगाइएको छ।

तर विवाद त्यतिमै रोकिएन।

अभियोगपत्रमा उल्लेख भएअनुसार सामाजिक सञ्जालमार्फत जाहेरवालाको व्यक्तिगत जीवन, सम्बन्ध र चरित्रसँग जोडिएका विभिन्न दाबी तथा आरोपहरू सार्वजनिक गरिएका थिए।

विशेषगरी जाहेरवालालाई ‘अघोषित श्रीमान्’ भन्दै नकुल दुबेसँग सम्बन्ध जोडेको, भारतमा उनीहरूबीच प्रेम सम्बन्ध रहेको तथा परिवारले टीकाटालो र कन्यादान गरेर पठाएको जस्ता विषय सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै, जाहेरवालाको अन्य व्यक्तिहरूसँग ‘अफेयर’ रहेको र ती व्यक्तिका श्रीमतीहरू आफूलाई कुट्न आएको जस्ता अभिव्यक्तिसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको दाबी गरिएको छ।

यतिमात्र होइन, पानी ट्यांकी क्षेत्रमा घर खरिद गरेको, कथा वाचनका क्रममा अनुयायीलाई भावुक बनाएर वृद्धभत्ता असुली रकम हिनामिना गरेको तथा व्यक्तिगत सम्पत्ति आर्जन गरेको जस्ता आरोपसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अभियोगपत्रमा उल्लेख छ।

जाहेरवालाको दाबी भने यी सबै आरोप तथ्यहीन, असत्य र आफ्नो चरित्र तथा सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने खालका रहेको भन्ने छ।

अनुसन्धानका क्रममा प्रहरीले केसीको साथबाट मोबाइल बरामद गरेको थियो। उक्त मोबाइलमा ‘बेदिका केसी’ नामको फेसबुक लगिन अवस्थामा रहेको र जाहेरीमा उल्लेख गरिएका पोस्टहरू सोही खाताबाट अपलाेड गरिएको पाइएको प्रहरी प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

केसीले भने प्रहरीसमक्षको बयानमा रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्ताका क्लिप आफूले फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा पोस्ट गरेको स्वीकार गरेकी छन्। साथै, जाहेरवालासम्बन्धी विभिन्न दाबी तथा आरोपहरू पनि आफूले पोस्ट गरेको बयानमा उल्लेख छ।

यही बयान, सामाजिक सञ्जालका पोस्ट, भिडियो, स्क्रिनसट, पेनड्राइभ तथा अन्य व्यक्तिहरूको बयानलाई आधार बनाएर सरकारी वकिलले केसीविरुद्ध अभियोग दायर गरेको हो।
अभियोजन पक्षले केसीको कार्यलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुर मानेको छ। उक्त दफामा विद्युतीय माध्यमबाट सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी वा अपमान गर्ने लगायतका कार्यमा सजायको व्यवस्था गरिएको छ।

अभियोगपत्रमा केसीलाई सोही कानुनअनुसार सजाय गर्न तथा अनुसन्धानका क्रममा बरामद सामग्री जफत गर्न माग गरिएको छ। साथै, जाहेरवालाले भोगेको भनिएको मानसिक पीडा तथा क्षतिका लागि क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।

वेदिकालाई यसअघि, प्रहरीले पक्राउ गरेको थियो । तर, पछि हाजिरी जमानीमा रिहा गरेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।