Friday, September 11, 2026
25.1 C
Kathmandu
Home समाचार बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती

बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती

ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्। बाबु फर्किएर आउने आशामा बसेको परिवारले अन्ततः १५औँ दिनमा कुशको शव बनाएर पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको छ।

बाबु फर्किने आशामा रहेका उनका २० वर्षीय छोरा सीतल पहरी र ११ वर्षीया छोरीका लागि यो क्षण निकै पीडादायी बन्यो। बाबुको शवसमेत देख्न नपाएका छोरा सीतलले कुशको शवमा दागबत्ती दिएर बाबुलाई अन्तिम बिदाइ गरे।

बसन्त रसुवास्थित अपर त्रिशुली–१ जलविद्युत् आयोजना क्षेत्रमा हाइड्रो आयोजनाका चार जना विदेशी कर्मचारीलाई लिएर कम्पनीको गाडी चलाउँदै साइटतर्फ गएका थिए। भोटेकोशीमा बाढी आएपछि उनी सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार भदौ ११ गते अर्थात् अगस्ट २७ तारिख बिहान करिब ६ बजे बसन्तसँग अन्तिमपटक सम्पर्क भएको थियो। त्यसपछि उहाँसँग कुनै सम्पर्क हुन सकेन। परिवार तथा सम्बन्धित निकायबाट खोजीका प्रयास भए पनि १४ दिनसम्म उहाँको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

बसन्तका श्रीमती, एक छोरा र एक छोरी छन्। सामान्य आर्थिक अवस्थाको परिवारका छोरा सीतलले विज्ञान विषयबाट ए ग्रेडसहित प्लस टु उत्तीर्ण गरेका छन्। चिकित्सक बन्ने सपना बोकेका उनी अहिले एमबीबीएस प्रवेश परीक्षाको तयारीमा थिए।

तर बाबुको बेपत्तापछि परिवारमा आएको बज्रपातले उनको अध्ययन र भविष्यसमेत अन्योलमा परेको छ। बाबुको काजक्रियामा सेतो कपडामा रहेका सीतलले भावुक हुँदै भने, “अब एक महिनापछि परीक्षा छ। ममाथि बज्रपात भयो। बाबु नै नभएपछि मेरो पढ्ने सपना कसरी पूरा गर्ने होला भन्ने चिन्ता लागेको छ।”

बाबुको साथ र सहयोगमा एमबीबीएस पढेर चिकित्सक बन्ने सपना देखेका सीतलका लागि अहिले त्यो सपना पूरा गर्ने बाटो कठिन बनेको छ। एकातिर बाबुको वियोगको पीडा छ भने अर्कोतर्फ परिवारको जिम्मेवारी र आफ्नो भविष्यको चिन्ताले उनलाई झनै पिरोलेको छ।

बाबुको शवसमेत देख्न नपाई कुशको शवमा दागबत्ती दिनुपर्ने बाध्यता एउटा छोराका लागि कति पीडादायी हुन्छ भन्ने कल्पना गर्न पनि कठिन छ। भोटेकोशी बाढीले बसन्तको परिवारबाट एउटा अभिभावक मात्र खोसेको छैन, बाबुको सपना पूरा गर्दै चिकित्सक बन्ने तयारीमा रहेका छोराको भविष्यमा समेत ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

बसन्तको परिवार अहिले शोकमा छ। १४ दिनसम्म बाबु फर्किने आशामा बसेको परिवारले अन्ततः कुशको शवमा अन्तिम संस्कार गर्नुपरेको पीडा बोकेर बस्नुपरेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।