काठमाडौँ । कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ ।
कान्तिपुर दैनिककाे समाचार अनुसार अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै डाकेको छ । उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।
बिचौलियाबाट रकम बुझेर कास्कीका मालपोत र भूमि आयोगका अधिकारीमार्फत जग्गा हडप्ने योजनाको ‘घूस डिल’ अडियो सार्वजनिक भएपछि गुप्ताले ३१ असारमा राजीनामा दिएका थिए । सुरुमा आरोपमा सत्यता नभएको जिकिर गरेका गुप्तामाथि कारबाहीको माग बढ्दै गएपछि बाध्य भएर राजीनामा दिएका थिए ।
सोही प्रकरणमा छोरा मनोज अधिकारीमार्फत बिचौलियाबाट रकम बुझेको आरोप लागेका भूमि व्यवस्थामन्त्री अधिकारीले भने पत्रकार सम्मेलन गरी राजीनामा नदिने र आरोपमा सत्यता नभएको जिकिर गरेका थिए ।
‘घूस डिल’ को अडियोमा समेत आवाज सुनिने नागरिक उन्मुक्तिकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ र पूर्वसचिव पोखरेल पनि पोखराको जग्गा प्रकरणमा मुछिएका छन् । उनीहरूलाई पनि अख्तियारले सोधपुछका लागि नबोलाएको पनि समाचारमा उल्लेख छ ।







